निफमा ‘गुन्यू चोलो’ उत्कृष्ट राष्ट्रिय फिल्म, ‘राजागंज’ अन्तर्राष्ट्रियतर्फ अव्वल

फिल्मी फण्डा। नवौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा दीपक रौनियार निर्देशित ‘राजागंज : पूजा सर’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र घोषित भएको छ।

 


सोमबार काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजित समापन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त अवार्ड प्रदान गरिएको हो। फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ।

 


राष्ट्रियतर्फ समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ सर्वोत्कृष्ट चलचित्र घोषित भयो। यही फिल्मबाट भट्ट उत्कृष्ट निर्देशक र नाजिर हुसेन उत्कृष्ट अभिनेता घोषित भए। ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन्।

 


त्यस्तै, ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन उत्कृष्ट पटकथाकार घोषित भए भने ‘कोशेढुङ्गा’बाट बाबु श्रेष्ठले उत्कृष्ट छायांकनको अवार्ड जिते।

 


दक्षिण एसियाली प्रतिस्पर्धातर्फ नेपाली भाषाको भारतीय फिल्म ‘जार’ उत्कृष्ट घोषित भएको छ। फुर्वा क्षिरिङ लामाद्वारा निर्देशित उक्त फिल्मलाई ट्रफीसहित ५ सय अमेरिकी डलर प्रदान गरिएको छ।

 


अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ उत्कृष्ट घोषित भयो। इर्सा रोका फ्यानबर्ग निर्देशित उक्त डकुमेन्ट्रीले ट्रफीसहित १ हजार अमेरिकी डलर प्राप्त गरेको छ।

 


अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फ इरानको ‘सिप’ उत्कृष्ट घोषित भयो भने एआई थिम्ड सर्ट फिल्मतर्फ चिनियाँ फिल्म ‘स्पिरिट अफ द माउन्टेन’ले अवार्ड जित्यो।

 


विद्यार्थी चलचित्रतर्फ मेक्सिकोको ‘पासारिन्हो’ उत्कृष्ट घोषित भएको छ।राष्ट्रियतर्फ उत्कृष्ट डकुमेन्ट्री ‘होम इज नट अ प्लेस’ र सर्ट फिल्म ‘रिहाना’ घोषित भए। दुवैलाई ट्रफीसहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

 


डन किहोते अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’लाई प्रदान गरिएको छ। स्पेशल मेन्सनतर्फ ‘एज डे गोज बाइ’ (राष्ट्रिय डकुमेन्ट्री) र ‘हाउसकिप्पर’ (अन्तर्राष्ट्रिय सर्ट फिल्म) घोषित भए भने स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रियतर्फ चिनियाँ फिल्म ‘द शोर अफ लाइफ’लाई प्रदान गरिएको छ।

 


समारोहमा प्रमुख अतिथि हार्तम्छालीले निफले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

 

महोत्सवका अध्यक्ष केपी पाठकले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।यस वर्षको निफ चैत १९ गतेदेखि सुरु भएको थियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech