फिल्मी फण्डा। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय गरिएको छ। फिल्म आउँदो वर्ष २०८३ वैशाख १ गते (नयाँ वर्षको दिन) प्रदर्शन हुने भएको हो।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकमाझ प्रस्तुत गर्ने निर्देशक घिमिरेले बताएका छन्।
उनले भने, “वितरकसँग छलफल गरेर प्रदर्शन मिति तय गरेका हौँ। नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी काम पूरा गर्ने अवधि मूल्याङ्कन गरेर डेट तय गरेका हौँ। फिल्मको विषयवस्तु पारिवारिक भएकाले स–परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौँ।”
‘बलिदान’पछि मदनकृष्ण श्रेष्ठ र ‘चिनो’पछि सुनिल थापासँग पुनः सहकार्य गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्ताको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन्। उनले नयाँ कलाकारहरूमा पनि पुराना कलाकार जस्तै आफ्नो पात्र र कामप्रतिको समर्पण पाएको बताए।
उनले थपे, “मानव बसोबासविहीन बनेका उच्च पहाडको कथा समेटिएको छ। फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्म हेर्दा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु।”
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन्। भारतमा फिल्म, वेब सिरिज तथा टेलीफिल्म छायाङ्कन गरिसकेका प्रधानले यसअघि निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणा मा सहकार्य गरिसकेका छन्।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रविन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा दर्शकमाझ ल्याउँदैछन्। यस्तै, जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।
फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन्।