फिल्मी फण्डा। नेपाली फिल्म जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।
फिल्म ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। यसमा निर्देशक निर शाहसँगै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन्। मुख्य सहायक निर्देशकको रूपमा सागर बोहरा कार्यरत छन्।
फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानद्वारा प्रस्तुत गरिएको हो। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
प्राविधिक पक्षमा छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल र कोरियोग्राफी रामजी लामिछानेले सम्हालेका छन्। निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुबेदीले सम्हाल्नेछन्।
निर शाहले आफ्नो सिने यात्रा वि.सं. २०२४ सालमा हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ फिल्मबाट सुरु गर्नुभएको हो। उहाँद्वारा निर्देशित ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ स्मरणीय फिल्म मानिन्छन्। अभिनयतर्फ उहाँले करिब ३ सयभन्दा बढी फिल्ममा योगदान दिइसक्नुभएको छ।
उहाँ अभिनीत पछिल्लो फिल्म ‘परान’ ले बक्स अफिसमा करिब १८ करोड रुपैयाँ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो। ‘कमला मिस’ मार्फत निर शाहले पुनः नेपाली दर्शकमाझ गहिरो वैचारिक संवाद स्थापित गर्ने अपेक्षा गरिएको छ।