फिल्मी फण्डा। फिल्म ‘लालिमा’ आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन् । साथै नायिका उषा रजक तथा नायकहरू शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिकामा रहेका छन् ।
निर्देशक रोशन मिराजका अनुसार फिल्म तीन हजार यौनकर्मीहरूको जीवन अनुभवबाट प्रेरित भएर निर्माण गरिएको हो ।
फिल्ममा ‘लालिमा’को भूमिका नायिका रोशनी कार्कीले निर्वाह गरेकी छन् भने उनकी आमाको भूमिकामा उषा रजक देखिएकी छन् ।
फिल्मबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनापछि लालीमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागारबाट मुक्त गराउने प्रयासमा लालीमा सहरको कठोर र अँध्यारो दुनियाँतर्फ धकेलिन्छिन् । त्यसपछि उनी शारीरिक, भावनात्मक र मानसिक पीडासँग संघर्ष गर्दै बाँच्न बाध्य हुन्छिन् । यही कथामा फिल्म निर्माण गरिएको हो ।’
सार्वजनिक पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल रूपमा प्रस्तुत गरिएको छ । उनी झ्यालको छेउमा संकटग्रस्त अवस्थामाझ बसेको देखिन्छिन् । सेतो कपडाले शरीर छोपेकी उनको लाली लतपतिएको अनुहारले चरित्रको गहिरो पीडा झल्काउँछ ।
निर्देशक मिराजका अनुसार ‘लालिमा’ पीडाको कथा मात्र नभई शोषण र संरचनागत अन्यायविरुद्ध नझुक्ने मानवीय साहसको कथा पनि हो ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मका कार्यकारी निर्माता रीना लामा हुन् भने फिल्मको कथा तथा पटकथा निर्देशक मिराज स्वयंले लेखेका हुन् ।