‘राते काइँला’को विदाइ : नेपाली सिनेमाले गुमायो खलनायकको पुनर्परिभाषक

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा अब स्मृतिमा मात्र सीमित भएका छन्। शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा उनको निधन भएको हो। छायांकनमा जाने तयारीमा रहेका थापाको असामयिक निधनले नेपाली मात्र होइन, भारतीय फिल्म तथा सिरिज क्षेत्रमा समेत गहिरो शोक र रिक्तता सिर्जना गरेको छ।

‘चिनो’ फिल्ममा निर्वाह गरेको राते काइँला पात्रबाट उनी नेपाली सिनेमाका सबैभन्दा स्मरणीय खलनायक बने। त्यो चरित्रले उनलाई नामभन्दा चरित्रले चिनिने कलाकार बनायो। खलनायकलाई सतही होइन, गम्भीर, शक्तिशाली र बौद्धिक पात्रका रूपमा स्थापित गर्ने श्रेय थापालाई जान्छ।

१९ मे १९५७ मा जन्मिएका थापाले चार दशकभन्दा बढी समय अभिनय, मोडलिङ र खेलकुद क्षेत्रमा योगदान दिए। करिअर मोडलिङबाट सुरु गरेका उनले बलिउड फिल्म ‘एक दुजेके लिए’ हुँदै नेपाली सिनेमा प्रवेश गरे। प्रियंका चोपडा अभिनीत ‘मेरी कम’ मा प्रशिक्षकको भूमिकाबाट उनले बलिउडमा समेत आफ्नो अभिनय क्षमता प्रमाणित गरे।

फिल्म 'मसाल'बाट अभिनय यात्रा थालेका थापाले १३८ भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापाको अन्तिम रिलिज फिल्म ‘एक्लो’ हो भने ‘राम नाम सत्य’ र ‘पहाड’ प्रदर्शनको तयारीमा छन्। शारीरिक हाउभाउ, बलियो आवाज र मौनतामै प्रभाव छोड्ने शैलीका कारण उनी भर्सटाइल अभिनेताका रूपमा स्थापित थिए।

सुनिल थापा केवल एक सफल अभिनेता मात्र होइनन्, नेपाली सिनेमामा खलनायक चरित्रको नयाँ मापदण्ड स्थापित गर्ने कलाकार थिए। उनको कला, योगदान र ‘राते काइँला’ जस्ता अमिट पात्र नेपाली सिने इतिहासमा सदैव जीवित रहनेछन्।

निधनको अघिल्लो दिन उनी फिल्म 'राम नाम सत्य'को छायाँकन सकेर घर फकेर्क थिए । फिल्ममा उनले निभाएका पत्रलाई आगो लाग्ने सिन बाँकी रहेको थियो । भोली पल्ट उक्र सिन गनेृ भन्दै सुटिङसेटबाट विदा भएका उनी विहान सुतिरहेकै अवस्थामा बहोस भेटिएका थिए ।

उनको परिवार भारतबाट आउँदै छन् । परिवार आईसकेपछि मात्र अन्तिम दाह संस्कारको काम शुरु हुनेछ । चलचित्र सम्बद्ध संघ संस्थाहरुको बैठक बसेर थापा प्रति शोक प्रस्ताव पारित गरेको छ । यस्तै उहाँको अन्तिम संस्कारका क्रममा श्रदाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान वा चलचित्र विकास बोर्डमा राखिने निर्णय गरेको छ । परिवार आईनसकेकोले अन्तिम संस्कारको प्रक्रिया आजै हुने वा भोली मात्र भने टुङ्गो नलागेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech