फिल्मी फण्डा। गएको दशैँको फूलपातीमा रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को सफलतापछि निर्माण टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको औपचारिक घोषणा गरेको छ। ‘हरिबहादुरको जुत्ता’ ले व्यावसायिक रुपमा राम्रो साथ पाउनुका साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको थियो।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने यो दोस्रो चलचित्र हो। चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आचार्य र युवा अभिनेता अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्। अभिषेकको डेब्यु चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ।
चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि यो जोडीले चलचित्र ‘बेहुली फ्रम मेघौली’ मार्फत चर्चा कमाएको थियो।चलचित्रको निर्माण सरोज ओली र मोहितवंश आचार्यले गर्नेछन्।
चलचित्रको कथा अभिमन्यु निरावीले तयार पारेका हुन्।निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार र प्राविधिक टोलीबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ।