अर्पण थापा भन्छन्: ‘द ब्लू लाइट’ जस्तो फिल्म कमै बन्छ

फिल्मी फण्डा। नेपाली फिल्म क्षेत्रमा फरक विधाको रूपमा हेरिएको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ माघ १६ गते (यही शुक्रबार) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।

बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय रहेको यस फिल्मले नेपाली सिनेमाको परम्परागत धारभन्दा फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशी मुख्य भूमिकामा छन् ।

बेनिशा हमाल नेपाली सिनेमा उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छन् । उनी जस्तोसुकै भूमिकामा पनि आफूलाई सहजै ढाल्न सक्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् । आधुनिक शहरिया भूमिकादेखि गाउँले सोझी–सिधा युवतीसम्म, सबै चरित्रमा उनी फिट देखिन्छिन् ।

‘द ब्लू लाइट’ लाई लिएर बेनिशा निकै उत्साहित छिन् । यो फिल्म दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँदै उनले भनिन्, “अहिले हामीले हेरिरहेका फिल्मभन्दा यो केही फरक छ, त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्त छ ।”

फिल्मको कन्टेन्ट र पर्फर्मेन्स मन परेर नै आफू निर्माणमा पनि जोडिएको उनले प्रष्ट पारिन् । बेनिशा ‘द ब्लू लाइट’ की कार्यकारी निर्माता समेत हुन् । साइकोलोजिकल थ्रिलर फिल्मको विषयवस्तु र प्रस्तुति मुख्य आकर्षण रहेको उनले बताइन् ।

यसैगरी, अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी अभिनेत्री श्रृष्टि श्रेष्ठ यस फिल्ममा भने ‘नेगेटिभ’ भूमिकामा देखिँदैछिन् । उनले यसअघि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ मा निभाएको भूमिकालाई आफ्नो करिअरकै सबैभन्दा फरक भूमिका भएको बताइन् ।

“यो फिल्ममा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ । कथाको गहिराइ र निर्देशकको सोचले गर्दा म यो भूमिकाप्रति आकर्षित भएँ,” श्रृष्टिले भनिन् ।

अभिनेता अर्पण थापाले ‘द ब्लू लाइट’ जस्तो फिल्म कमै मात्र बन्ने बताएका छन् । “यस्तो फिल्म बन्न बलिराम चौहानजस्ता निर्देशक नै चाहिन्छ,” उनले भने, “धेरै फिल्म बन्छन्, तर यस्तो फिल्म कहिलेकाहीँ मात्र बन्छ ।”अर्पणले फिल्मका केही दृश्य र प्रस्तुतिको तारिफ गर्दै भने, “फिल्म हेरेपछि दर्शकले धेरै कुरा सोच्न बाध्य हुनेछन् ।”

भर्सटाइल अभिनेता, निर्देशक तथा लेखकसमेत रहेका अर्पणले एउटा चरित्र निर्माणमा लेखनदेखि निर्देशन र पूरै टिमको ठूलो भूमिका हुने बताए । “‘द ब्लू लाइट’ मा हामीले यस्तो पात्र प्रस्तुत गरेका छौँ, जसको मनोविज्ञानले दर्शकलाई सोच्न बाध्य बनाउनेछ,” उनले थपे ।

‘द ब्लू लाइट’ मा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन् ।फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका छन् । यो उनको पहिलो निर्देशन हो ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको ‘द ब्लू लाइट’ का सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र बेनिशा हमाल रहेका छन्।फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् । आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech