अर्पण थापाको निर्देशनमा फिल्म ‘फ्रेन्च किस’ निर्माण घोषणा, कमलादीमा शुभमुहूर्त

फिल्मी फण्डा। फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा अर्थात् वसन्तपञ्चमीको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणा तथा शुभमुहूर्त गरिएको हो ।

नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका हुन् । यस फिल्मको निर्देशन स्वयं अर्पण थापाले गर्नेछन् ।
फिल्मको छायांकन सोमबारबाट चितवनका विभिन्न स्थानमा सुरु हुने बताइएको छ । अर्पण थापा स्वयं फिल्मको मुख्य भूमिकामा देखिनेछन् ।

उनसँगै अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएको फिल्म ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् । अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डमा सम्पन्न ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।

फिल्ममा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । साथै मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।

फिल्मका कार्यकारी निर्माता सौगात बस्नेत हुन् भने सह–निर्मातामा सुभाष बी. शाही रहेका छन् । अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले फिल्म खिच्नेछन् ।

फिल्मको संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यले दिनेछन् । रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मेवारी लिएको छ ।

फिल्मलाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ । शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने अनुमान गरिएको छ । अभिनय र निर्देशनमा आफ्नै छुट्टै छाप छाड्दै आएका अर्पण थापाको यो नयाँ फिल्मले नेपाली दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech