फिल्मी फण्डा। आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
फिल्मको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन् । गीतमा निर्देशक सिंहकै शब्द रचना, रञ्जित गजमेरको संगीत तथा शिव परियारको स्वर सुन्न सकिन्छ ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने यात्राका क्रममा भोग्ने विभिन्न उतार–चढावलाई प्रस्तुत गरिएको छ । गीतले दर्शकलाई फरक स्वादका साथै विशुद्ध पारिवारिक कथाको झल्को दिने निर्माण टिमको दाबी छ ।
यस फिल्ममार्फत निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक–पारिवारिक फिल्महरूले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले मन पराउने विश्वास निर्देशक सिंहको छ ।
यसअघि सार्वजनिक गरिएको फिल्मको टिजर र पोस्टरले दर्शकको राम्रो प्रतिक्रिया पाइसकेका छन् । सार्वजनिक गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ ।
निर्देशक सुदीप भुपाल सिंहकै लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । फिल्ममा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ ।
फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो । सञ्जय लामा र राजेश श्रेष्ठ छायांकन निर्देशक रहेका छन् ।
फिल्मका सहायक निर्देशकमा किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा छन् । गीतमा रञ्जित गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर समावेश छ ।