फिल्मी फण्डा। आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’ को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन पूरा भएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ ।
नायिका पूजा शर्माको आइटम डान्स दुई दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । फिल्मको छायांकन जुम्लामा गरिएको हो ।
पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी छन् । आशिष अविरलको संगीत रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा आशिष अविरल र मेलिना राईको स्वर तथा सुरेन्द्र रानाको शब्द रहेको छ ।
गीत सुन्नासाथ मन परेकाले आफूले काम गरेको नायिका शर्माले बताइन् । विवाहपश्चात यही फिल्मको गीतमार्फत पहिलोपटक अभिनय गरेको उल्लेख गर्दै करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।
गीतको भिडियोमा पूजासँगै नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन् ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन र महेश दवाडीको लेखन रहेको छ ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर मुख्य भूमिकामा छन् ।
यस्तै, बाल–कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा देखिनेछन् ।निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्मको संगीतमा आशिष अविरल, सरित राई र केतन क्षेत्री छन् भने निर्माण प्रमुख सुरज आचार्य हुन् ।
फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । देवता र राक्षसको कथामा आधारित फिल्म ‘कल्ली’को उक्त गीत केही समयपछि सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।