फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

फिल्मी फण्डा। फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा अर्थात् वसन्तपञ्चमी को शुभ अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मले आगामी वर्ष २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टिमले फिल्मको मिति घोषणा विशेष शैलीमा गरेको छ । फिल्मका मुख्य बाल–कलाकार अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञान निकेतन’ पुगेर सरस्वती पूजाको अवसरमा रिलिज मिति सार्वजनिक गरिएको हो ।


निर्माता विनोद पौडेलका अनुसार फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ ।फिल्मको अधिकांश छायांकन हिमाली जिल्ला म्याग्दीका रमणीय तथा ग्रामीण भेगमा गरिएको छ । जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित फिल्म हो ।

गत वर्ष सार्वजनिक गरिएको फिल्मको फर्स्टलुक पोस्टरमा कक्षाकोठामा हात उठाएर उपस्थिति जनाइरहेको एक बालकको दृश्यले धेरैको ध्यान खिचेको थियो । यसले शिक्षा क्षेत्रको गहिरो पाटोलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल–कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने कार्यकारी निर्माता रमेश चौलागाईं रहेका छन् । शिवराम श्रेष्ठ डीओपी रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, कला संग्रौला प्रोडक्सन डिजाइनर र मनोज जोशी प्रोडक्सन हेड छन् ।

फिल्मको सम्पादन मदन घिमिरेले गरेका छन् । यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्नेछन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech