पल शाह अभिनित फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा। अभिनेता पल शाह अभिनित नेपाली फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक गरिएको छ। यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा रिलिज गरेको हो।

ट्रेलरले नेपालको पछिल्लो समसामयिक यथार्थलाई केन्द्रमा राख्दै देशमै अवसर नपाएर विदेशिन बाध्य भएका युवाको कथा प्रस्तुत गर्छ। छोराले भविष्य खोज्दै परदेशिनुपर्ने बाध्यता र त्यसले आमाबुबामा छोड्ने भावनात्मक पीडालाई ट्रेलरमार्फत देखाइएको छ।

फिल्ममा आमाको भूमिकामा अभिनेत्री विपना थापा र बुबाको भूमिकामा भारतीय वरिष्ठ अभिनेता प्रदीप रावत देखिएका छन् भने छोराको भूमिकामा अभिनेता पल शाह छन्। उनीहरूबीचको गहिरो पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढाव ट्रेलरमै महसुस गर्न सकिन्छ।

 

ग्रामीण परिवेशमा आधारित कथालाई निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन्। फिल्मको स्लोगन ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं’ ले बाध्यताले विदेशिएका नेपाली युवाको पीडा र यथार्थलाई चित्रण गर्छ।
ट्रेलरमा साथीहरूको उक्साहटमा अस्ट्रेलिया जाने निर्णय लिने छोराको यात्रा र त्यसले परिवारमा पारेको प्रभाव वरिपरि कथा घुमेको देखिन्छ। फिल्मका सबै मुख्य कलाकार ट्रेलरमा समेटिएका छन्।

निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रविन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती र दिलिप अखेडा लगायतको अभिनय छ।

ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुंगाना निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन नवराज उप्रेतीले गरेका छन्। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech