फागुन १ देखि प्रदर्शनमा आउँदै ‘श्री बुकुरो : स्केच पोस्टर सार्वजनिक

फिल्मी फण्डा। निर्देशक सुदीप भुपाल सिंह को नयाँ नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार फिल्मको स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।


निर्देशक सिंह यसै फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित नेपाली फिल्म निर्देशन गरेका थिए। विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक कथावस्तु मा आधारित ‘श्री बुकुरो’ ले वर्तमान सामाजिक यथार्थ लाई प्रस्तुत गर्ने निर्देशकको भनाइ छ।


फिल्म रेञ्ज ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला र मोहन निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ।


निर्माता रुबी सेन सिंह रहेको फिल्मको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं मा गरिएको हो। छायांकन निर्देशक सञ्जय लामा र राजेश श्रेष्ठ रहेका छन् भने सम्पादन बनिष शाह र चन्दन दत्त ले गरेका हुन्।


फिल्ममा परिच्छेद सेन, रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्की को संगीत रहेको छ। दिग्गज संगीतकार रञ्जीत गजमेर को संगीत र शिव परियार को स्वर समावेश गरिएको यस फिल्मको हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरण को काम भइरहेको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार अब छिट्टै नै फिल्मको व्यापक प्रचार–प्रसार अभियान सुरु गरिनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech