फिल्मी फण्डा। केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड) ले चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ लागू गरेको छ । नयाँ कार्यविधिअनुसार अब चलचित्र सेन्सर गर्दा दृश्य काटछाँटभन्दा दर्शकको उमेर समूहअनुसार वर्गीकरणलाई प्राथमिक आधार बनाइनेछ ।
कार्यविधिको बुँदा नम्बर ५ मा चलचित्रको विषयवस्तु, संवाद, दृश्य, हिंसा, यौन, नग्नता, लागुपदार्थ, भाषा, कथाको सन्दर्भ, उद्देश्य तथा मूल थिमका आधारमा दर्शकको उमेर समूह तोक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार चलचित्रलाई क, ख, ग र घ श्रेणीमा वर्गीकरण गर्दै सार्वजनिक प्रदर्शनका लागि प्रमाणपत्र प्रदान गरिनेछ ।
सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठका अनुसार नयाँ कार्यविधिले सेन्सर प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहज बनाउने उद्देश्य राखेको छ । “अब सेन्सरको केन्द्रमा काटछाँट होइन, वर्गीकरण प्रणाली रहनेछ,” उनले भने ।
यसैबीच, समितिले पुसदेखि लागू गरिएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ बुँदा हटाएको छ । सो बुँदाअनुसार समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाउने व्यवस्था थियो ।
अघिल्लो कार्यविधिका केही प्रावधान विवादित बनेपछि सेन्सर बोर्डले परिमार्जनसहित नयाँ कार्यविधि लागू गरेको हो ।