वितरक रोहित कट्टेल निर्माता बने, ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता

फिल्मी फण्डा । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन्। चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन्।

 

लामो समयदेखि चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने भन्ने प्रश्नमा, चलचित्रको कथा मन परेपछि आफू निर्माणमा अग्रसर भएको बताउँछन्।

 

“निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो चलचित्र हो। जब निर्देशक यम शेर्पाले मलाई यो चलचित्रको कथा सुनाउनुभयो, कथा निकै मन पर्‍यो,” रोहित भन्छन्, “एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि प्रस्ताव आउँदा सहकार्य नगर्ने कारण देखिनँ, त्यसैले लगानी गरेको हुँ।”

 

बाबु र छोरीबीचको भावनात्मक कथाले आफूलाई गहिरो रूपमा छोएको रोहितको भनाइ छ। “यो हामी सबै नेपालीको कथा हो, घर–घरको कथा हो,” उनी भन्छन्, “धेरै नेपालीले भोगेको र देखेको यथार्थ भएकाले कथा सुन्नासाथ मन परेको हो।”

 

राम्रो कथामा आधारित चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहेको उनले बताए। कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो चलचित्र दर्शकमाझ पुर्‍याउनु आफ्नो दायित्वसमेत भएको रोहितको भनाइ छ।

 

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

 

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। चलचित्रका कार्यकारी निर्माता आरआर फिल्म्सका

 

सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।
चलचित्रमा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

 

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech