फिल्मी फण्डा। चलचित्र विकास बोर्डले काठमाडौँ उपत्यकाभित्र सञ्चालित चलचित्र घरहरूका लागि आयोजना गरेको ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। सोमबार र मंगलबार (पुस २८ र २९ गते) सञ्चालित उक्त तालिममा उपत्यकाका २७ वटा सिनेमा हलका ३८ जना प्रतिनिधिको सहभागिता थियो।
तालिममा चलचित्र विकास शुल्कसम्बन्धी कानुनी व्यवस्था, डिजिटल पोर्टलको आवश्यकता र यसको प्रभावकारी कार्यान्वयनबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई पोर्टलको सैद्धान्तिक अवधारणासँगै व्यवहारिक प्रयोगका बारेमा समेत प्रशिक्षण प्रदान गरिएको बोर्डले जनाएको छ।
तालिम समापन कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले डिजिटल पोर्टलले शुल्क संकलन र व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, सहज र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे। अध्यक्ष डिसीले भने “चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्नु बोर्डको प्राथमिक लक्ष्य हो। डिजिटल प्रणालीमार्फत शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदा यसले दीर्घकालीन रूपमा उद्योगको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
बोर्डले यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशको चितवनमा यस्तो तालिम सम्पन्न गरिसकेको छ। उपत्यकाको तालिम सकिएसँगै अब आगामी माघ २ गतेदेखि ७ गतेसम्म गण्डकी प्रदेशका चलचित्र घरहरूका लागि तालिम प्रदान गर्ने कार्यतालिका तय गरिएको बोर्डले जनाएको छ।
बोर्डले यस्ता कार्यक्रममार्फत देशभरका चलचित्र घरहरूलाई डिजिटल प्रणालीमा आबद्ध गराई शुल्क व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।