पूर्वी नेपाल दर्शक साक्षात्कारसँगै ‘बिगुल’ को बनको कोइली सार्वजनीक

फिल्मी फण्डा। प्रदर्शन मिति नजिकिदै जादा ‘बिगुल’ फिल्मको प्रचारप्रशारले निकै तीव्रता पाएको छ । रमेश कोइराला निर्देशीत फिल्म ९ माघबाट देशब्यापी प्रदर्शनमा आउदैछ । देशको बर्तमान राजनीति अबस्थासँग मिल्दोजुल्दो बिषयको ‘बिगुल’ को फस्र्टलुक पोस्टर,टिजर र ट्रेलरले दर्शकको ध्यान आकर्षित गरिहेको बेलामा निर्माण टिमले पूर्वी नेपाल दर्शक साक्षात्कार कार्यक्रम समापन गरेको छ ।

निर्देशक कोइरालाका साथमा फिल्मका कथाकार तथा निर्माता दिनेश कोइरालाले पूर्वीनेपालकाबिराटनगर,इटहरी,धरान,दमन,बिर्तामोड हुदै हेटौडा र चितवनका दर्शकहरु माझ प्रत्यक्ष रुपमा ‘बिगुल’ प्रदर्शन हुन लागेको सन्देश पुर्याएका छन् । करिब एक साता लामो मोफसल टुरमा निर्माता,निर्देशकले आफ्नो फिल्म प्रति दर्शकको अभिरुचि र प्रतिक्रिया बुझेनन् मात्र फिल्म हेर्नका लागि सबैलाई आह्वान पनि गरे ।

देशको समसामयिक राजनीति,जनताको चासो,हकअधिकार, समाजीक न्याय अनि पारिवारिक दायित्वको बिषयलाई उजागर गरिएको फिल्मको प्रचारप्रशारमा सामाजीक संस्था जेसिसले पनि भरपुर साथ दिएको छ ।
मोफसल दौडाका साथमा ‘बिगुल’ निर्माण टिमले आफ्नो फिल्ममा समाबेश लोकभाकाको गीत ‘बनको कोइली बनैमा रमायो’ शुक्रबार सार्वजनीक गरेको छ ।

यशराज गचर र ऋचा थापा फिचर्ड गीतमा मनिष चौधरी र शान्तिश्री परियारको स्वर,मनोज चौलागाईको शब्द,संगीत र कमल राईको कोरियोग्राफी छ ।

निर्माता कोइरालाले आफूहरु अब केही दिनमै मध्य तथा पश्चिम नेपालका दर्शकमाझ प्रत्यक्ष भेटघाट  गर्न जाने तयारीमा रहेको बताएका छन् । भुइँमान्छेको कथा र समृद्ध नेपालको कल्पना आव्हान गरिएको फिल्मका रुपमा ब्याख्या गरिदै आइएको ‘बिगुल’ मा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्माका साथमा बरिष्ट अभिनेता रबिन्द्र खड्का बिशेष भूमिकामा छन् ।

म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । काफिया फिल्म्स् र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्ने फिल्म शिब ढकालले खिचेका हुन भने कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ । फिल्मकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech