फिल्मी फण्डा । आगामि शुक्रबारबाट देश तथा विदेशमा रिलिज हुन गइरहेको नेपाली फिल्म 'जय हो'ले अष्ट्रेलीयामा आकर्षक शो पाएको छ । ओभरसीजमा राम्रो प्रचारप्रसा भएको कारण फिल्मले ८७ शो पाएको हो । फिल्ममा अष्ट्रेलीया बस्ने नेपालीहरुको पनि लगानी रहेको छ । त्यसैले पनि त्यहाँ फिल्मले राम्रो शो पाएको हो ।
नमस्ते इन्टरटेनमेन्टले अष्ट्रेलियाको न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेर लगायतका ८ शहरका हलमा फिल्म रिलिज गर्ने भएको छ । केही हप्ता अगाडि मात्रै फिल्मका नायक सलोन बस्नेत फिल्मको प्रचारका लागि अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलीयामा नेपालीहरुको बाक्लो बसोबास रहेको कारण फिल्मले राम्रो कमाइ गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
फिल्म 'जय हो'मा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको प्रस्तुतकर्तामा शोभित बस्नेत छन् भने फिल्मको निर्देशन टेक पौरखी राईले गरेका हुन् ।