फिल्मी फण्डा । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म 'पशुपतिप्रसाद २ भष्मे डन'को टिजर सार्वजनीक गरीएको छ ।
एक मिनेट ७ सेकेन्ड लामो टिजरमा पहिलो ५३ सेकेन्ड ग्राफिक्स मार्फत् फिल्मको टाइटल र क्रेडिट सिन देखाइएको छ । हिन्दी फिल्महरुको टिजरमा देखाइने ग्राफिक्स स्टाइलमा फिल्मको निर्माण टिमले लेखक तथा निर्माता खगेन्द्र लामिछाने, निर्देशक दिपेन्द्र के खनाल र विपिन कार्कीको नाम टिजरमा देखाइएको छ ।
अन्तमा विपिन कार्किको छोटो सिन सहित डाइलग राखिएको छ । सुनको दाँत लगाउँदै भष्मे उर्फ विपिनले एक सम्बाद बोल्छन् । फिल्ममा विपिन कार्किको अलावा, सौगात मल्ल, स्वस्तिमा खड्का, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेल लगायतलाई स्थान दिइएको छ । फिल्ममा सबै क्यारेक्टरहरुले दर्शकमाझ उत्सुकता बढाउने पक्का छ ।
‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा 'पशुपतिप्रसाद २ भष्मे डन' निर्माण गरिएको हो ।
८ बर्ष अघि २०७२ साल माघ १५ गते रिलिज भएको फिल्म 'पशुपति प्रसाद'को क्यारेक्टर भष्मे डन फिल्म भन्दा पनि चर्चित र हिट बनेको थियो । । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए ।
यस फिल्मलाई पनि त्यहि जोडीले लेखन र निर्देशन गरेका हुन् । फिल्मका डीओपी निरज कँडेल हुन्, फिल्ममा बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुषालको संगीत, प्रविण सिंहको नृत्य निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइनिङ छ । फिल्म आगामि दशैंको फूलपातीमा रिलिज हुनेछ ।