फिल्मी फण्डा । पशुपति प्रसादको चर्चित क्यारेक्टरको नाममा बनेको फिल्म 'भष्मे डन'को पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंलाई रिलिज मिति तोक्दै फिल्मको निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले विपिनको एकल र फिल्मको सबै क्यारेक्टर समेटिएको गरी २ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेल लगायतलाई स्थान दिइएको छ । फिल्ममा सबै क्यारेक्टरहरुले दर्शकमाझ उत्सुकता बढाउने पक्का छ ।
८ बर्ष अघि २०७२ साल माघ १५ गते रिलिज भएको फिल्म 'पशुपति प्रसाद'को क्यारेक्टर भष्मे डन फिल्म भन्दा पनि चर्चित र हिट बनेको थियो । । खगेन्द्र लामिछानेको लेखन तथा निर्माणमा तयार भएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए । यस फिल्मलाई पनि त्यहि जोडीले लेखन र निर्देशन गरेका हुन् । फिल्मका डीओपी निरज कँडेल हुन्, फिल्ममा बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुषालको संगीत, प्रविण सिंहको नृत्य निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइनिङ छ ।