बक्स अफिसमा स्टारहरूको कन्तबिजोग

 फिल्मी फण्डा । नेपाली फिल्म इण्डष्ट्रिमा यस्ता केही शब्दहरु छन्, जुन शब्द आफु सँग जोडियोस् भन्ने सबै कलाकारहरुको इच्छा हुने गर्छ । त्यो शब्द हो 'स्टार' । स्टार शब्द मिडिया, दर्शक या फिल्मकर्मी आफैले दिने उपनाम हो । वास्तवमा हरेक क्षेत्रमा स्टारहरूको आफ्नै महत्व हुने गर्छ । फिल्म क्षेत्रको कुरा गर्ने हो भने स्टारहरू भएकै कारण फिल्मको सहज प्रचारप्रसार हुने गर्छ, फिल्म प्रती दर्शकको आकर्षण हुने गर्छ । जसको कारण दर्शकलाई हल सम्म तान्न सहज हुन्छ ।

पछिल्लो समय हेर्ने हो भने सिमित कलाकारहरु र निर्देशक हरुलाई मात्रै स्टार उपनामले सम्बोधन गरिँदै आएको छ । ति कलाकार हरु अनमोल केसी, प्रदिप खड्का, पल शाह, साम्राज्ञी आर एल शाह, पुजा शर्मा, स्वस्तिमा खड्का आदि हुन् भने सुदर्शन थापा, प्रदिप भट्टराई, रामबाबु गुरुङ, दिनेश राउत लगायत निर्देशक हरु हुन् । स्टारहरू विभिन्न कारणले चर्चामा आइरहन्छन् । विशेष गरी फ्यान फलोअर्स र पारिश्रमिकको बिषयलाई लिएर उनिहरुको चर्चा हुने गर्छ । फिल्मी वृत्तमा पनि उनिहरुको पारिश्रमिक र फ्यान फलोअर्स हेरेर विभिन्न उपनामले सम्बोधीत गरीन्छ । जस्तै सुपरस्टार, मेगा स्टार, स्टार आदि आदि नामले उनिहरुलाई सम्बोधन गरिदै आएको छ । त्यसै अनुसार निर्माताहरूले ति स्टारहरूलाई महंगो पारिश्रमिक दिएर आफ्नो फिल्ममा काम गराउँदै आएका छन् । तिनै स्टार अभिनीत फिल्महरुको बक्स अफिस कलेक्सन सार्वजनिक हुँदा फिल्मी बृत्त मा निकै चर्चा हुने गर्थ्यो ।

कारण ति फिल्महरूले एकै दिन करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको पोस्टरहरु निर्माण टिम बाट सार्वजनिक हुने गर्थ्यो । फिल्मको कमाइलाई देखाएरै उनीहरुले पारिश्रमिक समेत प्रत्येक फिल्ममा बढाउँदै जान्थे र सधैं चर्चाको केन्द्रमै रहन्थे । तिनै स्टारहरूलाई लिएर फेरी पनि चर्चा सुरु भएको छ । चर्चाको कारण चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको नेपाली फिल्महरुको बक्स अफिस डाटा हो । पछिल्लो बर्षबाट बिकास बोर्डले नेपालमा प्रदर्शन भएका विदेशी र स्वदेशी गरी सबै फिल्महरूको ब्यापारिक रिपोर्ट सार्वजनिक गर्न सुरु गरेको छ । उक्त डाटा यदि तपाईंले पढ्नु या हेर्नु भयो भने सायद तपाईंको मस्तिष्कमा स्टारप्रति रहेको विश्वास टुट्न सक्छ । 

फिल्म इण्डष्ट्रिमा ठुला ठुला उपनाम, महंगो पारिश्रमिक र करोडौं कमाएको पोस्टरहरू सार्वजनिक गर्दै दर्शकलाई भ्रमित पार्ने स्टारहरूको वास्तविक बक्स अफिस पावर कस्तो रहेको छ त ? आउनुहोस् हेरौं

आफुलाई हिरो भन्दा पनि बलियो स्टारको रुपमा प्रमाणित गर्दै आएकी पुजा शर्मा प्राय फिल्म सफलताको क्रेडिट आफै लिने गर्छिन्, त्यसै अनुसार निर्माताहरू सँग महंगो पारिश्रमिक पनि लिँदै आएकी छिन् । यता प्राय पुजा शर्मा सँगै फिल्म निर्माण तथा निर्देशन गर्दै आएका सुदर्शन थापा पनि हिरो या हिरोइन भन्दा बढि आफैलाई क्रेडिट दिन्छन् । उनि त कलाकारहरुलाई स्टार नै नमान्ने निर्देशक हुन् । उनको अनुसार फिल्म निर्देशक र कथाको कारणले चल्ने हो नकि स्टारको कारण । यसरी हेर्दा पुजा र सुदर्शनको कुरा एक आपसमै बाझिन्छ, तर अचम्मको कुरा त के छ भने उनीहरु एक अर्का बिच कहिल्यै क्रेडिटको लागि झगडा गर्दैनन् तर आफैलाई क्रेडिट दिन पनि छोड्दैनन् । के पुजा अभिनित या सुदर्शन निर्देशित फिल्मले बक्स अफिसमा उनिहरुले लिने पारिश्रमिक मात्रै पनि फिर्ता गर्न सकेको छ त ? त्यसको लागि उनिहरुले संयुक्त रुपमा काम गरेको पछिल्लो फिल्म 'सम्हालिन्छ कहिले मन'को बक्स अफिस रिपोर्ट हेरौं

फिल्म सम्हालिन्छ कहिले मन लाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन भने अमित बस्नेतले निर्माण गरेका हुन् । अमितले ले यस फिल्ममा ४ करोड आसपासको लगानी गरेको रिपोर्टहरु सार्वजनिक भएका थिए, अब त्यसमा कत्तिको सत्यता छ त्यो निर्माण टिमलाई नै थाहा होला । तर उक्त फिल्मले बक्स अफिसमा भने जम्मा ७५२४४५४ रुपैयाँको ग्रस कलेक्सन गरेको छ, भने २७ हजार ५९३ टिकट बेचेको छ । फिल्मको सेयर कलेक्सन भने ३० लाखको आसपास हुन आउँछ । अब आफै मुल्यांकन गर्नुस् स्टार नायिका पुजा र स्टार निर्देशक मानिने सुदर्शन थापाले यस फिल्ममा कति पारिश्रमिक लिए होला अनि निर्माताले उक्त फिल्मबाट कति कमाइ गरे होला ।

यता मिडियाले कुनै आधार विनानै मेगा स्टार घोषणा गरेका नायक हुन् अनमोल केसी । यसमा कुनै शंका छैन कि उनि भविष्यमा मेगा स्टारको ट्याग पाउन सक्षम छन् । आज उनको स्टारडम सबैभन्दा बलियो रहेको छ । त्यसैलेपनि उनलाई स्टार शब्दले सम्बोधन गर्दा कुनै आपत्ति हुदैन । तर मेगा स्टार उपनाम भने लामो समय धेरै उपलब्धि प्राप्त गरेपछि दिने सम्मान हो । त्यसैलेपनि अनमोललाई मेगा स्टारको ट्याग निकै भारी भएको छ । कारण उनको पछिल्लो फिल्म छड्के २.० बक्स अफिसमा नसोचेको असफल भयो । निर्माण टिमबाट आधिकारीक रिपोर्ट सार्वजनिक नभएपनि उक्त फिल्मको बजेट ४ देखि ५ करोड रहेको बताइएको छ । यदि बजेटको आँकडा अनुसार फिल्मको कमाई हेर्ने हो भने छड्के २.० मेगा डिजास्टर फिल्म मान्न सकिन्छ । उक्त फिल्म नेपाल सहित ओभरसिजमा समेत असफल भएको थियो । अनमोलले फिल्म फ्लप भएपछि दर्शक सँग माफिनै मागेका थिए । जसको कारणले ओभरसिजका वितरकहरुले अनमोललाई धम्कीको भाषा समेत प्रयोग गरेको हामिले देख्यौं । 

छड्के २.० ले अनमोलको स्टारडममा निकै धक्का पुर्याएको देखिन्छ । किनकि छड्के अनमोलको करियरकै सबैभन्दा महंगो फिल्म भएर पनि सबैभन्दा कम कलेक्सन गर्ने फिल्म बन्न पुग्यो । उक्त फिल्मले जम्माजम्मी ९६१७ ओटा टिकट बेचेको छ । त्यति टिकट अनमोलको अन्य फिल्मले पहिलो दिनको पहिलो सो मै बेच्ने गर्थ्यौ । २७६८८८३ रुपैयाँको लाइफ टाइम कलेक्सन गर्दै छड्के २.० अल टाइम डिजास्टर फिल्म बन्न पुग्यो । त्यसैले यस फिल्मले अनमोलको स्टारडम माथिनै प्रश्न चिन्ह खडा गरेको विश्लेषण फिल्मी वृत्तमा हुन थालेको छ । 

यता अनमोललाई टक्कर दिने हिरोको रुपमा मिडियाले कलाकार प्रदिप खड्कालाई चित्रण गर्दै आएको थियो । हुन पनि प्रदिप मात्रै एक्लो स्टार हुन् जसले अनमोल पछि युवा पुस्तालाई हल सम्म तान्ने क्षमता राख्छन् । उनको फिल्म युवायुवती माझ निकै प्रतीक्षित रहेको हुन्छ ।  करियरको सुरुवातमै अफलता प्राप्त गरेका प्रदीपलाई पनि स्टार हिरोको दर्जा मिलेको छ । के उनको स्टारडम बक्स अफिसमा पनि देखिएको छ त ? आउनुहोस् हेरौं उनको पछिल्लो बक्स अफिस रिपोर्ट 

प्रदीपको पछिल्लो ३ फिल्मलाई नियाल्ने हो भने उनले कुनै फिल्ममा स्टारडम प्रदर्शन गर्न सकेका छैनन् । स्टारको पहिलो धर्म हुन्छ ओपनिङ दिलाउन सक्नु । तर उनले अभिनय गरेको फिल्म 'लभ स्टेशन' र 'प्रकास'ले बक्स अफिसमा निकै घाटाको ब्यापार गरे । उनको यस अघि प्रदर्शन भएको फिल्म 'रोज' त मेगा डिजास्टर नै भएको थियो । फिल्म यति ठुलो फ्लप भयो कि उनले २५ लाखमा साइन गरेको फिल्म बाट जम्मा १५ लाख मात्रै प्राप्त गरे, फिल्म फ्लप भन्दै निर्माण टिमले बाँकि दिनै मानेन्। त्यसपछि प्रदर्शन भएको फिल्म 'लव स्टेशन' पनि फ्लप भएपछि त उनको जबर्जस्त ट्रोल भएको थियो । धेरैले उनलाई सन्तोष शेन बिना चल्न नसक्ने हिरोको रुपमा चित्रण गरे । नभन्दै उनले फ्लप मा ह्याट्रिक गरेपछि सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको ब्राण्ड सिरिज प्रेम गीत ३ रिलिज भयो । उक्त फिल्मले राम्रो ब्यापार गर्यो । तर के उक्त फिल्म प्रदीपको स्टारडमले चलेको थियो या सन्तोष सेनको मार्केटिङ ले त्यो छुट्याउने जिम्मा म दर्शकलाई नै दिन्छु ।

यदि 'प्रकास'को बक्स अफिस रिपोर्ट हेर्ने हो भने फिल्मले १ करोड ७५ लाखको ग्रस कलेक्सन गरेको छ । जसको निर्माता सेयर हुन आउँछ ६० लाख । यदि करोडौं खर्च गरी, स्टार हिरोलाई खेलाएर पनि जम्मा ६० लाख सेयर प्राप्त हुन्छ भने निर्माताले फिल्ममा फेरी लगानी गर्ने आँट गर्लान् त ? प्रकाशले स्टार हिरो प्रदिप र स्टार निर्देशक दिनेश राउतको एक साथ स्टारभ्यालुको मापन गरिदिएको थियो ।

त्यस्तै स्टार नायिका साम्राज्ञी पनि बक्स अफिसमा निकै कमजोर देखिएकी छिन् । निर्माताहरू साम्राज्ञीलाई यसकारण फिल्ममा लिने गर्छन् कि उनि अभिनित फिल्मले राम्रो ओपनिङ गर्नेछ । तर बक्स अफिस रिपोर्ट हेर्ने हो भने निर्माताहरूको भ्रम तोडिने पक्का छ । साम्राज्ञीको पछिल्लो बर्ष २ फिल्महरु प्रदर्शन भए । तर दुबै फिल्महरु असफल भए ।  साम्राज्ञी अभिनित फिल्म 'ह्यारी कि प्यारी'ले जम्मा २७१४२ ओटा टिकट बेचेको छ । उक्त फिल्मले २८ देखि ३० लाखको आसपासमा निर्मातालाई सेयर दिलाएको छ । करोडौंको लागतमा निर्माण भएको उक्त फिल्मले ७४ लाखको ग्रस कलेक्सन गर्दै बक्स अफिसमा असफल सावित भएको थियो । यता फिल्म 'तिम्रो मेरो साथ'ले त साम्राज्ञीको करियरमै सबैभन्दा खराब प्रदर्शन गरेको थियो । फिल्मले जम्मा ३९०८ ओटा टिकट बेचेर १० लाखको आसपासमा ग्रस कलेक्सन गर्यो । यसको मतलब निर्माताले फिल्मबाट ४ लाख रुपैँया सेयर प्राप्त गरेका थिए । यसरी हेर्दा निर्माताले साम्राज्ञी माथि गरेको लगानी खेर गएको बुझ्न सकिन्छ । 

अर्को महत्वपुर्ण कुरा के छ भने, चलचित्र बिकास बोर्डले फिल्महरूको कमाई सार्वजनिक गर्न थालेपछि धेरै निर्माताहरूले पोस्टरमा फेक कलेक्सन सार्वजनिक गर्न छोडेका छन् । यता कतिपय निर्माताहरू बोर्डले कलेक्सन सार्वजनिक गर्न नपाउने भन्दै बिरोधमा पनि उत्रिएका छन् । हलवालहरुले त बोर्ड बिरुद्ध अदालत जानेसम्मको चेतावनी दिएका छन् । यो सबैको पछाडिको कारण के होला ? अहिलेसम्म दर्शक झुक्केका थिए । निर्माताहरूले रिपोर्ट गर्ने कलेक्सन लाई विश्वास गरीरहेका थिए । फेक कलेक्सनकै आधारमा कलाकारहरुको बखान हुने गरेको थियो । यी मध्य कुनै न कुनै पक्कै हो । कहाँसम्म भने प्रत्येक फिल्म पछि उनिहरुको पारिश्रमिक बढाउन तम्सिन्थे निर्माता । यदि यसरी नै प्रत्येक फिल्मको कमाई सार्वजनिक हुने हो भने कसको स्टार भ्यालु कति रहेको छ त्यो स्पष्ट हुने थियो । यसले निर्माता, निर्देशक र कलाकारलाई फिल्म बजारले सन्तुलन गरिदिनेछ ।  

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech