फिल्मी फण्डा। पछिल्लो समय सहकारी समस्या निकै बढ्दै गईरहेको छ । सहकारीमा राखेको बचत रकम फिर्ता नआएको भन्दै आम सर्व साधारण निरन्तर सहकारीमा फसेको रकम फिर्ता गर्न माग गर्दै आन्दोलन र धर्नामा छन् ।
सोही बीचमा पहिलो नेपाली फिल्मकी कलाकारहरु समेत धर्नामा बसेकी छन् । ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् । उनीहरुले सहकारीमा फसेको रकम उठाईदिन आग्रह समेत गरेका छन् ।
दुई अभिनेबी सोमबार राति १० बजेसम्म धर्नामा रहने कार्यक्रम छ। घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए । अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन् ।
फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन् ।
चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।
तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं