फिल्मी फण्डा । उद्योगपति शेखर गोल्छाले नेपाली सिने क्षेत्रमा पाइला चालेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पहिलो फिल्म परानको औपचारिक घोषणा गरेका हुन् ।
चलचित्र सक्किगो नि सिरियलबाट चर्चामा आएका दीपक आचार्यले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्। गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले प्रिज्मा एडभर्टाइजिङका प्रमुख रन्जित आचार्यसँग सहकार्य गरी परान निर्माण गर्न लागेका हुन्।
बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा नीर शाह शीर्ष भूमिकामा देखिनेछन्। उनको जोडीका रूपमा पूजा चन्द देखिनेछिन्। अन्य कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा र महेश त्रिपाठी पनि सामेल छन्।
फिल्मको छायांकन फागुन पहिलो साताबाट धनकुटामा सुरु हुनेछ। निर्माताहरूले परानलाई नेपालीपन झल्काउने कथा र प्रस्तुति हुने दाबी गरेका छन्। “हामीले २०१७ मा कम्पनी स्थापना गरे पनि २०२४ मा मात्र यो प्रोजेक्ट अघि बढाएका हौँ,” निर्माता रन्जित आचार्यले बताए।
कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा सौरभ ज्योति, गोल्डस्टार जुत्ताका उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा लगायत व्यवसायीहरूको उपस्थिति थियो।
बाइस्कोप सिनेमा प्रस्तुति भन्दै बन्न लागेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गर्नेछन् भने मित्र देव गुरुङको संगीत तथा सुप्रिम पराजुलीको रंग संयोजन रहनेछ।