फिल्मी फण्डा । नायक पल शाह हाल महोत्सवहरूमा अत्यधिक व्यस्त देखिएका छन्। हरेक दिनजसो उनले महोत्सवमा नृत्य गर्दै आफ्ना हिट गीतमार्फत दर्शकलाई रमाइलो गराइरहेका छन्। तर, पछिल्ला केही दिनमा पललाई महोत्सवमा आफ्नै फिल्म ‘मायाबी’ को प्रचारमा सक्रिय देखिएको छ।
फागुन १४ गते रिलिज हुने यो फिल्मको प्रचारका क्रममा पलले विभिन्न महोत्सवमा सहभागिता जनाइरहेका छन्। बेनीमा आयोजित महोत्सवमा उनले फिल्मको गीत ‘टल टल’ सार्वजनिक गरे भने बारामा गएर दर्शकसँग सोही गीतमा नृत्य गरेका छन्। प्रचारको क्रममा उनले दर्शकसँग फिल्मसम्बन्धी प्रश्नोत्तर गर्दै टिसर्ट उपहार दिएका थिए।
पलले दर्शकहरू फिल्मप्रति निकै उत्साहित भएको महसुस गरेको बताए। ‘मायाबी’ प्रति दर्शकको बढ्दो रुचिले आफूलाई खुसी तुल्याएको उनले जनाए। उनले यो फिल्मलाई विशुद्ध प्रेमकथा र मित्रताको कथा भएको उल्लेख गर्दै दर्शकलाई हेर्न आग्रह गरेका छन्।
फिल्मको दोस्रो गीत ‘टल टल’ अहिले दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। महोत्सवमा यस गीतको माग बढिरहेको पलले बताए। दिवाकर भट्टराईको निर्देशनमा तयार भएको ‘मायाबी’मा पल शाहसँगै दीपिका प्रसाईं, सुशिल सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, नव-नायक समिम खान लगायतका कलाकारको अभिनय रहेको छ।
निर्माणपक्षका अनुसार, दर्शकले लामो समयदेखि विशुद्ध प्रेमकथामा आधारित सिनेमा हेर्न नपाएकोले ‘मायाबी’ले उनीहरूको मन जित्ने विश्वास छ।