फिल्मी फण्डा । नेपाली सिनेमा उद्योगमा फरक धारका फिल्मले दर्शकको मन जित्दै गएको छ। दशैंपछि रिलिज भएका धेरै फिल्मले राम्रो व्यापार गर्दा, अब हरर र कमेडीको अनौठो मिश्रण बोकेको फिल्म 'फिरफिरे फिरिरी' भोलि, माघ ४ गतेबाट दर्शकमाझ आउँदैछ।
हलमा भावुक दृश्यहरूमा आँसु झार्ने दर्शकलाई यसपटक पेट मिची-मिची हसाउने लक्ष्य लिएको यो फिल्मले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ। फिल्मका निर्माता मनोज कुमार अधिकारीका अनुसार 'फिरफिरे फिरिरी' ले दर्शकलाई हँसाउने मात्र होइन, फरक स्वादको मनोरञ्जन पनि दिनेछ।
हरर कमेडी जस्तो कम बन्ने जनरामा तयार गरिएको यो फिल्ममा नयाँ कथा, ताजा प्रस्तुति र दमदार अभिनय देख्न सकिन्छ। फिल्मका मुख्य कलाकार मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी र सूर्यमान लिम्बु छन्।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोजकुमार अधिकारी र सह-निर्माता नितिश पुन हुन्। कथा सन्दिप श्रेष्ठ र नविन भट्टले लेखेका हुन्। नविन भट्टले निर्देशन गरेको यो फिल्म उनको डेब्यु निर्देशन पनि हो।
फिल्ममा सन्दिप श्रेष्ठ र भावना उप्रेतीले पहिलो पटक पर्दामा डेब्यु गरेका छन्। निर्माता अधिकारी फिल्मको कन्टेन्ट र कलाकारहरूको अभिनय क्षमतामा विश्वास राख्दै भन्छन्, "यो फिल्मले नेपाली सिनेमा उद्योगमा नयाँ उचाइ ल्याउनेछ।"
"छक्का पञ्जा" र "१२ गाउँ" जस्ता हिट फिल्मपछि 'फिरफिरे फिरिरी' लाई पनि दर्शकले मन पराउने र नेपाली सिनेमा बजारमा अर्को सफलताको कथा लेख्ने आशा गरिएको छ । हास्य र हररको मिश्रणको मजा लिन तयार रहनुहोस्, 'फिरफिरे फिरिरी' भोलिदेखि नजिकको हलमा!