फिल्मी फण्डा । हिउँको गीत अमेरिकामा नेपाली भाषी भुटानीको संघर्ष र स्वप्नको चलचित्र प्रस्तुति नेपाली भाषी भुटानी र नेपाली आप्रवासीहरूको जीवन संघर्ष र स्वप्नको कथा प्रस्तुत गर्ने चलचित्र हिउँको गीतु अमेरिकामा छायांकन गरिएको छ। यो फिल्म ओहायो राज्यको क्लिभल्याण्ड सहरको हलिउड स्तरका स्टुडियोमा छायांकित भएको हो, र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा यसको अन्तिम दृश्यको छायांकन गरिएको छ।
यस चलचित्रको निर्देशन विमल सुवेदीले गरेका हुन्, जसमा नेपाली भाषी भुटानीको जीवन, संघर्ष, र आकांक्षालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। फिल्मले भुटान, नेपाल र अमेरिकामा जन्मेका विभिन्न पुस्ताका पात्रहरूको कथा बोकेको छ, जसले फरक परिवेश र परिस्थितिमा आफ्ना सपनाहरूको खोजी गर्छन्।
फिल्मको कथामा भुटानी नेपालीहरूको आफ्नै देशबाट लखेटिनु, नेपालका शरणार्थी शिविरमा बिताइएका वर्षहरू र अमेरिकामा नयाँ जीवनको खोजीको अनुभूति गरिएको छ। निर्देशक सुवेदीले भुटानी शरणार्थीहरूको अनुभवलाई ऐतिहासिक दृष्टिकोणबाट प्रस्तुत गरेको बताएका छन्।
यस चलचित्रमा प्रमुख भूमिकामा जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, जोयश पाण्डेय लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्माणमा ह्याप्पी होम स्टुडियोजका जोयश पाण्डेय, बिमल सुवेदी र समुन्द्र राज घिमिरेको योगदान रहेको छ।
यस फिल्मले नेपाली भाषी भुटानीको कथा मात्र नभएर, संसारभरिका आप्रवासीहरूको जीवन र संघर्षलाई पनि पर्दामा उतार्छ, जसले यसलाई एक ऐतिहासिक र मानवीय दस्तावेजको रुपमा प्रस्तुत गरेको छ।