फिल्मी फण्डा । कृषा चौलागाईंको निर्देशनमा बनेको मल्टिस्टारर एक्सन ड्रामा 'पिताम्बर' को टिजर सार्वजनिक भएको छ। २ मिनेटको टिजरले फिल्मको कथा र चरित्रहरूको झलक दिन्छ।
टिजरको सुरुवात महाभारतको उद्धरण 'यदा यदा हि धर्मस्य…' को वाचनबाट हुन्छ। दिव्यदेवको स्वरमा शुरू हुने टिजरमा अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दयाहाङ राई र प्रदीप खड्का देखिन्छन्। दयाहाङ प्रहरीको भूमिकामा छन् भने प्रमोद खलनायकको चरित्रमा। प्रदीपको पात्रले प्रतिशोध लिने प्रयास गरिरहेको देखिन्छ।
सौगात मल्लको दमदार संवाद 'अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो' टिजरको मुख्य आकर्षण हो। अन्त्यमा खड्का र मल्लको आमनेसामने दृश्यले थप रोचकता थपेको छ।
टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, र गौरव विष्टको झलक पनि छ। फिल्म एक्सनभित्रको ग्याङस्टर जनरामा आधारित छ। चौलागाईंको निर्देशनमा यो दोस्रो फिल्म हो।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता विशाल चौलागाईं हुन्। फिल्म चैत २९ गते प्रदर्शन हुनेछ।