फिल्म ‘डोरी’ को सुटिङ पूरा

फिल्मी फण्डा । फिल्म ‘डोरी’ को छायांकन ३७ दिनको मिहिनेतपछि सम्पन्न भएको छ। मंसिर १५ गतेबाट सुरु भएको सुटिङ आइतबार अन्तिम क्ल्यापसँगै सकिएको निर्माता दिनेश भट्टराईले जानकारी दिएका छन्।

अरुण लामाको निर्देशन र सौरभ लामाको छायांकनमा बनेको यो फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडाले शीर्ष भूमिका निर्वाह गरेका छन्। सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको ‘डोरी’ ले समाजको यथार्थ झल्काउने प्रयास गर्नेछ। निर्देशक लामाका अनुसार, फिल्मको कथा दर्शकलाई सोच्न बाध्य बनाउने खालको छ।

फिल्मको सुटिङ पूरा भएसँगै कलाकारहरू आ-आफ्ना नयाँ प्रोजेक्टतर्फ लागेका छन्। अभिनेत्री अञ्जना बराइली माघ १ गतेदेखि पोखरामा सुरु हुने दिनेश राउतको फिल्म ‘महाभोज’ को छायांकनमा सहभागी हुनेछिन्। अभिनेता प्रविण खतिवडाले भने सरोज पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कोशेढुंगा’ मा काम गर्नेछन्।

यो जोडीले फाल्गुनको पहिलो सातादेखि धनकुटामा सुरु हुने अर्को ठूलो प्रोजेक्टमा पनि सँगै काम गर्ने तयारी गरिरहेको छ।

‘डोरी’ ले दर्शकलाई नयाँ कथावस्तु र रोमाञ्चक दृश्यको अनुभव दिने विश्वास गरिएको छ।

स्रोत :- न्युज फिल्मी 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech