चलचित्र ‘कार्साङ’ को ट्रेलर ट्रेन्डिङमा, दर्शकले गरे प्रशंसा

फिल्मी फण्डा । चलचित्र ‘कार्साङ’ को ट्रेलर दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाउँदैछ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको ट्रेन्डिङ ट्रेलरले दर्शकको उच्च प्रशंसा बटुल्न सफल भएको छ। ट्रेलरलाई वर्षकै उत्कृष्ट ट्रेलरको संज्ञा दिँदै धेरैले चलचित्र पनि त्यतिकै उत्कृष्ट हुने आशा व्यक्त गरेका छन्।

दया र जितुको अभिनयको विशेष चर्चा हुँदै गर्दा, यसले शेर्पा समुदायको कथा नजिकबाट बुझ्न अवसर दिने भन्दै दर्शक उत्साहित देखिएका छन्। ट्रेलरमा झाँक्री विद्यामा आधारित सामाजिक विश्वास, परम्परा, आर्थिक समस्या, प्रशासनिक जटिलता, समाजले गर्ने बहिष्कार, रिस, द्वेष, र पारिवारिक विखण्डनलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गरेको संघर्ष र सम्झौताको झलकले दर्शकको मन जितेको छ।

चलचित्रका निर्देशक यम शेर्पाले ट्रेलरले पाएको मायाप्रति खुसी व्यक्त गर्दै भने, ‘दर्शकले देखाउनुभएको माया र अपेक्षा पूरा गर्न हामीले भरपूर प्रयास गरेका छौँ। यो उत्साहलाई सिनेमा हलमा पनि निरन्तरता मिल्ने आशा छ।’

‘कार्साङ’ को ट्रेलरले दर्शकको ध्यान तानिसकेको छ, अब चलचित्रले पनि त्यस्तै सफलता हासिल गर्न सक्ने विश्वास निर्माण पक्षले लिएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech