काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना, चिनियाँ निर्माता र कलाकारको सहभागिता

फिल्मी फण्डा । नेपाली र चिनियाँ फिल्म निर्माताबीच अनुभव र योजना आदान-प्रदान गर्दै फिल्म उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ।

यस कार्यक्रमको आयोजनामा ९ जनवरीमा चिनियाँ फिल्म निर्माता र कलाकारहरूको टोली नेपाल आउने तय भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्त रूपमा यो विशेष समारोहको आयोजना गर्दै छन्।

‘चाइना फिल्म डे’मा तीन चिनियाँ फिल्म प्रदर्शन गरिने छ। ती फिल्मका निर्माता कम्पनीका तीन सदस्य र दुई कलाकारसहित चाइना फिल्म एडमिनिस्ट्रेसनका निर्देशक सु याङ पनि कार्यक्रममा सहभागी हुनेछन्। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकका अनुसार विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिनेछ।

चिनियाँ टोलीले नेपाल पर्यटन बोर्डसँग नेपालमा छायांकनका सम्भावनाबारे छलफल गर्ने छ। साथै चलचित्र विकास बोर्डसँग पनि फिल्म निर्माणमा सहकार्यका बारेमा बैठक हुनेछ। “नेपाल र चीनबीच फिल्मको संयुक्त निर्माणमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल हुनेछ,” पाठकले भने।

चिनियाँ टोली काठमाडौं दरबार स्क्वायर लगायतका लोकेसनहरूको भ्रमण गर्ने तयारीमा छ। साथै, कार्यक्रमका दौरान प्रदर्शन गरिने फिल्म र कलाकारहरूको नाम पनि केही दिनमा निर्णय गरिने छ।

चिनियाँ टोली ८ जनवरीमा काठमाडौं आइपुग्ने र १० जनवरीमा बंगलादेशको ढाकामा हुने अर्को फिल्म फेस्टिभलमा सहभागी हुनेछन्। नेपालमा चाइना फिल्म डे सम्पन्न भएपछि चीनमा पनि भविष्यमा फिल्म फेस्टिभल आयोजना गर्ने योजना रहेको पाठकले जानकारी दिए।
स्रोत :- अनलाइन खबर बाट प्रकाशीत

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech