फिल्मी फण्डा । नेपाली फिल्म निर्माताहरू बिदाको समय आफ्नो फिल्म प्रदर्शन गर्न मिति बुक गर्न हतारिने क्रम बढ्दै गएको छ। यसै कारण एकै मितिमा धेरै फिल्म प्रदर्शन हुँदा व्यापारमा नकारात्मक प्रभाव पर्न थालेको छ।
नेपालका हलहरूले एकै दिनमा दुईवटा सम्म फिल्म प्रदर्शन धान्न सक्ने भए पनि, दुईभन्दा बढी फिल्म प्रदर्शन हुँदा शो बाँडफाँडमा समस्या उत्पन्न हुन्छ। अझ, चर्चित निर्माता, निर्देशक, र कलाकारका फिल्म एकसाथ पर्दामा आउँदा सम्भावना बोकेका फिल्मले पनि व्यापार गुमाउनुपर्छ।
आगामी दशैंका लागि मात्रै आधा दर्जनभन्दा बढी फिल्मले आफ्नो प्रदर्शन मिति बुक गरिसकेका छन्। यसै सन्दर्भलाई ध्यानमा राख्दै फिल्म निर्माता सङ्घले एकै मितिमा धेरै फिल्म प्रदर्शन रोक्न प्रयास थालेको छ।
निर्माता सङ्घका अध्यक्ष नवल खड्काले भने, "एकै दिन दुईभन्दा बढी फिल्म प्रदर्शन नगर्ने नियम बनाउन गृहकार्य भइरहेको छ। अहिले वर्षमा १०० भन्दा बढी फिल्म निर्माण हुने भएकाले सबैको लागि उपयुक्त समाधान खोज्नुपर्छ।"
सङ्घका कार्यदल संयोजक उदय सुब्बाका अनुसार, एकसाथ धेरै फिल्म प्रदर्शन हुँदा निर्माता र हलवालाले दुबै घाटा बेहोर्नुपर्छ। "यस विषयमा सबै पक्षसँग सहमति जुटाउने प्रयास भइरहेको छ," उनले बताए।
एक दशकअघि चलचित्र सङ्घ र निर्माता सङ्घले एकै दिन दुईभन्दा बढी फिल्म प्रदर्शन गर्न रोक लगाउने नियम लागू गरेका थिए। तर, निर्माताहरूले लामो समयसम्म आफ्नो लगानी होल्ड गर्नुपर्ने गुनासो गरेपछि उक्त नियम हटाइएको थियो।
अब भने पुनः सोही नियम लागू गर्ने सोच बनाइएको छ। चलचित्र सङ्घका संयोजक गोपालकाजी कायस्थले भने, "एकै दिन धेरै फिल्म प्रदर्शन हुँदा निर्माताहरूले लामो समय कुर्नुपर्ने र व्यापारमा नोक्सानी हुने गुनासो उठेपछि नयाँ सहमति जुटाउन प्रयास भइरहेको छ।"
नयाँ नियमले निर्माता र लगानीकर्ताहरूको सोचमा असर गर्न सक्ने अनुमान गरिएको छ। लगानी लामो समय होल्ड हुनु र फिल्म निर्माणको दर घट्ने सम्भावनाबारे छलफल चलिरहेको छ।
तर, एकै मितिमा धेरै फिल्म प्रदर्शन रोक्दा व्यापार व्यवस्थित हुने र नेपाली फिल्म उद्योगलाई सन्तुलनमा राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्रोत :- मेरो फिल्म बाट प्रकाशीत