फिल्मी फण्डा । बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक भएको छ। १ मिनेट ४१ सेकेन्ड लामो टिजरमा सलमानको दमदार एक्सन र उत्कृष्ट ब्याकग्राउन्ड म्युजिकले दर्शकको ध्यान आकर्षित गरेको छ।
निर्देशक एआर मुरुगादासले इन्स्टाग्राममार्फत टिजर सार्वजनिक गरेका हुन् भने नाडियाडवाला ग्राण्डसनको युट्युब च्यानलबाट यसको प्रिमियर गरिएको हो। टिजरमा सलमान सिकन्दरको भूमिकामा मास्क लगाएर थुप्रै मानिसहरूसँग भिड्दै छन्।
टिजरको विशेष संवाद ‘धेरै मान्छे मेरो पछि लागेका छन् भन्ने सुनेको छु, मलाई फर्किन ढिलो भयो।’ यस संवादसँगै उत्कृष्ट ब्याकग्राउन्ड साउण्ड र सलमानले बन्दुकको लडाइँ लड्दाको दृश्यले टिजरलाई अझ रोमाञ्चक बनाएको छ।
रश्मिका मन्दाना र सलमान खान अभिनीत यो फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुनेछ। यसअघि गजनी, हलिडे र अकिरा जस्ता हिट फिल्म निर्देशन गरेका मुरुगादासले यो फिल्मको निर्देशन गरेका छन्। साजिद नाडियाडवालाले यस फिल्मको निर्माण गरेका छन् र नेटफ्लिक्स यसको स्ट्रिमिङ पार्टनर हुनेछ।