सान्भी इन्टरटेनमेन्टको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक

फिल्मी फण्डा । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेका यस फिल्मको प्रदर्शन आगामी फागुन २ गतेदेखि हुनेछ। शुक्रवार सार्वजनिक गरिएको नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरूको आकर्षक चित्रण गरिएको छ।

पोस्टरमा अभिनेता सलोन बस्नेत, नायिका नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई प्रमुख स्थान दिइएको छ। पोस्टरमा सलोन साइकलमा सवार छन् र फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन्। यस दृश्यमा सलोन र आयुषी खुशी मुद्रामा देखिन्छन्। सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन्। पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली स्पष्ट देखिन्छ, जसले पोस्टरलाई थप जीवंत र आकर्षक बनाएको छ।

‘रंगी’ फिल्मको निर्देशन सुरेश न्यौपानेले गरेका छन्। यस फिल्ममार्फत उनले आफ्नो निर्देशन यात्रा शुरू गरेका हुन्। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीजस्ता प्रमुख कलाकारहरूको अभिनय रहेको छ। यस फिल्मको विशेषता भनेको, ‘मिस वल्र्ड नेपाल २०२०’ की विजेता नम्रता श्रेष्ठको डेब्यू हो। फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेतका अनुसार, फिल्मले बाबुछोरीको माया र सम्बन्धलाई मर्मस्पर्शी तरिकामा प्रस्तुत गर्नेछ।

‘रंगी’ फिल्म सलोन बस्नेतको डेब्यू निर्माण हो। बाल कलाकारको रूपमा ‘नेपाली बाबु’ बाट फिल्मी यात्रा थालेका सलोनले पछि ‘होस्टल’, ‘हिरो’ जस्ता हिट फिल्महरूमा अभिनय गरेका छन्। यस फिल्मका निर्देशक सुरेश न्यौपानेले भने ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ जस्ता प्रमुख फिल्महरूमा सहायक निर्देशकको भूमिका निभाएका छन्। अब उनले ‘रंगी’ फिल्ममार्फत मुख्य निर्देशनको जिम्मेवारी सम्हालेका छन्।

‘रंगी’ को निर्माण सक्षम सुवेदी र करिश्मा केसी बस्नेतले गरेका छन्। फिल्मको लेखन सुमन गजमेरको हो भने, छायांकन सौरभ लामाले गरेका छन्। यस फिल्ममा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ, र आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर रहेको छ। फिल्ममा प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको साउन्ड प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ। फिल्मका निर्माता र प्रोडक्शन टिमले यसलाई एक नयाँ अनुभवको रूपमा प्रस्तुत गरेका छन्।‘रंगी’ फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech