फिल्मी फण्डा । सशान कँडेल निर्देशित फिल्म होस्टेल ३ को प्रदर्शन मिति महाशिवरात्रिको कारण १६ फागुनमा पोस्टपोन्ड गरिएको थियो। अब निर्माण कम्पनी सम्मान इन्टरटेनमेन्टले फिल्मको नयाँ प्रदर्शन मिति २३ फागुन तय गरेको छ। यस मितिमा फिल्मलाई सोलो रिलिजको अवसर मिल्नेछ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
फिल्मको नयाँ पोस्टरमा चार प्रमुख पात्र – आशिष घिमिरे, पारस बम ठकुरी ९कुल ब्वाई०, रिहान गिरि र पदम तामाङ – कलेजको बास्केटबल कोर्टमा रमाइलो गरिरहेका देखिएका छन्। पोस्टरले फिल्मका मुख्य विषयवस्तु, जसमा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरू समेटिएका छन्,लाई बखुबी प्रस्तुत गरेको छ। फिल्मले कलेजका विद्यार्थीहरूको जीवन, उनीहरूको आपसी मित्रता र संघर्षका बारेमा कथा प्रस्तुत गर्नेछ।
निर्देशक सशान कँडेलको आफ्नै कथामा आधारित फिल्म होस्टेल ३ को स्क्रिप्ट माधव शर्माले लेखेका छन्। यसलाई सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो। फिल्मका प्रमुख निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन् भने सह(निर्माता सुरेश कँडेल र कार्यकारी निर्मातामा शङ्कर कोइराला छन्।
फिल्ममा प्रमुख कलाकारहरूको रूपमा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, रोहन श्रेष्ठ, सन्तोष बानियाँ र आशिष पुरुषजस्ता कलाकारहरूको अभिनय रहेको छ। फिल्मका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफीका लागि बुद्ध थापा र मनोज खत्री जिम्मेवार छन्। सम्पादन विकास दाहालले गरेका छन्, जबकि कोरियोग्राफी प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन्। द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन्।