नरसिंहाः अवतार नयाँ वर्षमा रिलिज, राजेश हमालको ८ वर्षपछि पर्दामा कमब्याक

फिल्मी फण्डा । दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र नरसिंहाः अवतार नयाँ वर्षको अवसरमा रिलिज हुने भएको छ। यो चलचित्र चैत २९ गतेदेखि देशभरका प्रमुख सिनेमाघरहरूमा प्रदर्शनमा आउँने छ।

निर्देशक भट्टराईका अनुसार, नरसिंहाः अवतार को रिलिज देशभरका प्रमुख हलहरूमा हुनेछ। यस चलचित्रले विशेष आकर्षण बनाएको छ, किनकि राजेश हमाल ८ वर्षपछि पर्दामा फर्किरहेका छन्। यस चलचित्रबाट उनको कमब्याक भएको हो, जसका कारण दर्शकहरू यसलाई निकै प्रतिक्षा गर्दैछन्।

यो चलचित्र एक्सन र सोसल ड्रामा जनरामा निर्माण गरिएको हो, र यसको निर्माण नरेन्द्र महर्जनले गरेका हुन्।

सिनेमामा राजेश हमालसँगै अन्य प्रमुख कलाकारहरू राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारहरूको अभिनय रहनेछ।

क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको यस सिनेमाको द्वन्द्व निर्देशक चन्द्र पन्त हुन्। नरेन्द्र महर्जनसँगै यस सिनेमामा लगानी गर्ने अन्य व्यक्तिहरू पशुराम बस्नेत र धुर्ब न्यौपाने रहेका छन्। नेपाल वितरणको जिम्मेवारी एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले लिएका छन्।

यस चलचित्रसँगै, चैत २९ गते सौरभ चौधरीको कर्मा र कृषा चौलागाइँको पिताम्बर पनि रिलिज हुने छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech