फिल्मी फण्डा । नेपाली फिल्म उद्योगमा प्रविधिको प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने ‘ड्रोन पाइलट’ कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा भएको यो कार्यक्रमको उद्घाटन बोर्ड अध्यक्ष दिनेश डीसीले गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै डीसीले फिल्म निर्माणमा नवीन प्रविधिको प्रयोगले गुणस्तर बढाउने र प्रतिस्पर्धात्मक बनाउने विश्वास व्यक्त गरे।
कार्यशालामा २५ जना छायांकारहरूको सहभागिता रहेको छ। सहभागीहरूमध्ये प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, नीरज कँडेल, राजभाइ सुवाल, कुवेर डंगोल, र डकुमेन्ट्री फिल्ममेकर शान्ता नेपालीजस्ता ख्यातिप्राप्त नामहरू समावेश छन्।
कार्यशालाको उद्देश्य छायांकनमा ड्रोनको प्रयोगलाई अझ व्यवस्थित र सुरक्षित बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्नु हो। यसका लागि ड्रोन हब नेपालले कार्यशालाको संयोजन गरेको छ। तालिमका प्रशिक्षकहरूमध्ये ड्रोन विशेषज्ञ प्रवीण भट्टराई, प्रहरी निरीक्षक, र प्रभु हेलिका पाइलटजस्ता अनुभवी व्यक्तिहरू रहेका छन्।
साथै, चलचित्र विकास बोर्डले आफ्ना कर्मचारीलाई सञ्चार सीप र जीवन व्यवस्थापनमा दक्ष बनाउन विशेष तालिमको व्यवस्था गरेको छ। उद्यमी निर्वाण चौधरी र अध्यक्ष दिनेश डीसीले तालिमका क्रममा प्रेरणादायी स्पिच दिने कार्यक्रम छ।
कार्यक्रम बैशाख १ गतेसम्म जारी रहनेछ, जसमा दैनिक रूपमा नयाँ विधाहरूमा तालिम र अभ्यास गराइनेछ।