फिल्मी फण्डा । चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो, र प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित घटना, झडप, वा दुर्घटनालाई रोक्न निर्माता, वितरक, प्रदर्शक, वा कलाकार आफैंले आवश्यक सुरक्षाको प्रबन्ध गर्नुपर्ने जनाएको छ।
बोर्डले चलचित्र क्षेत्रका नौवटा संघसंस्थालाई पत्र लेख्दै सार्वजनिक प्रदर्शनका क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडप र असुविधा रोक्न विशेष ध्यान दिन अनुरोध गरेको हो।
"चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाउने व्यवस्था कार्यान्वयन गर्न सहयोग गर्नु भई चलचित्र क्षेत्रको अनुशासन, मर्यादा, र गरिमा जोगाइराख्न सबैको सहकार्य आवश्यक छ," अध्यक्ष दिनेश डीसीले पत्रमा उल्लेख गरेका छन्।
सुरक्षासम्बन्धी यो पत्र निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, नृत्य संघ, चलचित्र संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति मातृभाषी चलचित्र संघ, र चलचित्र पत्रकार संघलाई पठाइएको हो।
हालै भारतको हैदरावादमा ‘पुष्पा २’ को विशेष प्रदर्शनका क्रममा भएको घटना र काठमाडौंको सिभिल मलमा ‘कबड्डी’ प्रदर्शनका बेला अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनाले बोर्डको ध्यानाकर्षण गराएको अध्यक्ष डीसीले बताएका छन्।