फिल्मी फण्डा । अभिनेता दयाहाङ राईले विभिन्न समुदायको चरित्र निर्वाह गर्न पाउनु आफ्नो लागि भाग्यको कुरो भएको बताएका छन् ।
मंगलबार ‘कार्साङ’को गीत छायांकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न ठाउँ, समुदाय र मानिसको कथामा काम गर्न पाउँदा एकदमै आनन्द लाग्ने बताए ।
थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका दयाहाङ पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा शेर्पा चरित्रमा देखिँदैछन् । फिल्ममा उनको भूमिका झाँक्रीको रहेको छ ।
दयाहाङले ‘कार्साङ’लाई परिवारबिचको सम्बन्धको कथा भएको बताएका छन् । उनका अनुसार फिल्मको पक्ष दर्शकलाई नयाँ लाग्नेछ ।
‘कार्साङ’मा दयाहाङको जोडी अभिनेत्री सिर्जना निङलेख बनेकी छन् । पहिलो फिल्ममै दयाहाङसँग काम गर्न पाउँदा खुसी रहेको निङलेखले बताइन् ।