फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री, फागुनमा रिलिज

फिल्मी फण्डा । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस फिल्मलाई युना इन्टरटेनमेन्टका उज्जवल गुरागाईंले जापानका लागि अधिकार किनेका हुन्। यद्यपि, निर्माण पक्षले कति रकममा यो अधिकार बिक्री भएको भन्ने जानकारी भने खुलाएको छैन। फिल्म आगामी फागुन २ गतेदेखि देशभर रिलिज हुने तयारीमा छ।

फिल्म ‘रंगी’ को निर्देशन सुरेश न्यौपानेले गरेका छन्। यस फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी जस्ता कलाकारहरूको अभिनय देख्न सकिन्छ। प्रस्तुतकर्ता सलोनका अनुसार, फिल्मले बाबुछोरीको कथा समेट्नेछ।

‘रंगी’ सलोन बस्नेतको डेब्यू निर्माण हो। उनले फिल्म ‘नेपाली बाबु’ बाट बालकलाकारको रुपमा अभिनय यात्रा सुरु गरेका थिए र पछि ‘होस्टल’, ‘हिरो’ जस्ता फिल्महरूमा मुख्य भूमिका निभाए।

निर्देशक सुरेश न्यौपाने यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ जस्ता फिल्महरूमा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।

फिल्म ‘रंगी’ को निर्माण सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको छ। यसका अन्य प्रमुख सदस्यहरूमा सुमन गजमेर (लेखन), सौरभ लामो (छायांकन), दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी (संगीत), आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसी (स्वर) छन्। मेकअप प्रिज्मा श्रेष्ठले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्।

पब्लिसिटी डिजाइन आइक्याच स्टुडियोले तयार गरेको छ र कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले गरेका छन्।

फिल्मलाई वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले लिएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech