संजिवनीको आवाजमा ‘माइतीघर’को कालजयी गीतको नयाँ संस्करण

फिल्मी फण्डा ।चर्चित बलिउड पाश्र्वगायिका संजीवनीले आगामी नेपाली फिल्म ‘माइतीघर’को शीर्षगीतमा आवाज दिने भएकी छन्। यसअघि सोही नामबाट निर्माण भएको फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’को नयाँ संस्करणमा उनलाई सुन्न पाइने भएको हो।

पहिला यस गीतमा आशा भोसलेको आवाज थियो। यस नयाँ संस्करणमा संगीत भने जयदेव र शब्द किरण खरेलेकै यथावत रहनेछन्। संजीवनीको स्वर र रिकेश गुरुङको एरेन्जमा यो चर्चित गीतले नयाँ जीवन पाउनेछ। फिल्मका निर्माता रोहित अधिकारी र संजीवनीबीच सोमबार गीत रेकर्डबारे सहमति भएको हो ।

आउने साता मुम्बईको एक स्टुडियोमा संजीवनीले आफ्नो आवाजमा गीत रेकर्ड गर्ने छिन्। यसका लागि उनले राम्रै पारिश्रमिक लिने सहमति भएको निर्माता अधिकारीले बताए। उनले थपे, "पहिला पनि आशा भोसलेले गाउनुभएको थियो। त्यो फिल कायम रहोस् भनेर संजीवनीकै स्वरमा रेकर्ड गर्ने पक्का भएको हो।" अधिकारीले संजीवनीलाई पहिला पनि धेरै नेपाली गीतमा आवाज दिएको र त्यसैले उनलाई यो गीतका लागि उपयुक्त मानिएको उल्लेख गरे।

यस गीतका लागि यसैसाता ‘माइतीघर’को मौलिक गीतका एकमात्र जीवित सर्जक र गीतकार किरण खरेलसँग प्रतिलिपि अधिकार सुनिश्चित गरिएको जानकारी पनि निर्माताले दिएका छन्। "खरेलसँग प्रतिलिपि अधिकारबारे कागजी सम्झौता भैसकेको छ," अधिकारीले भने।

संजीवनीले पानी मीठो मेरो हजुर, पुरानो हुँदैन माया, डाँडा पाखा छहराले, तिम्रो सम्झनाले मलाई, आँखामा आउने तस्वीरजस्ता हिट नेपाली गीतहरूमा स्वर दिएकी छन्।

‘माइतीघर’ फिल्मको निर्देशन मिलन तामाङले गर्ने छन् र यसको छायांकन चैतदेखि सुरु हुने तयारी छ। यस फिल्ममा केदार घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, दिकिला शेर्पा र उपासनासिंह ठकुरीले अभिनय गर्ने पक्का भएको छ। निर्माता अधिकारीले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउने योजना बनाएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech