फिल्मी फण्डा । बलिउडका चर्चित स्टार किड्ससँग अक्सर देखिने ओरहान अवतारमणि (ओरी) अब फिल्मी करियरको तयारीमा छन्। सञ्जयलीला भन्सालीको निर्देशनमा बनेको आगामी फिल्म ‘लभ एन्ड वार’ बाट उनी बलिउडमा डेब्यू गर्दैछन्। यो फिल्ममा आलिया भट्ट, रणवीर कपूर, र विक्की कौशल मुख्य भूमिकामा रहेका छन् भने दीपिका पादुकोण विशेष भूमिकामा देखिनेछिन्।
इन्डिया टुडेका अनुसार ओरीलाई उक्त फिल्ममा केमियोका लागि कास्ट गरिएको छ। भन्सालीको ‘लभ एन्ड वार’ को अलावा उनले निर्माण गर्न लागेको अर्को परियोजना ‘मन बैरागी’ पनि चर्चामा छ।
ओरी बलिउडका चर्चित पार्टीहरूमा नियमित उपस्थिति जनाउँछन् र अम्बानी परिवारसँग पनि नजिक सम्बन्ध राख्छन्। उनी सामाजिक सञ्जालमा लोकप्रिय छन्, जहाँ उनलाई इन्स्टाग्राममा १६ लाखभन्दा बढीले पछ्याएका छन्। उनी बलिउड भित्रका खास तस्वीर र घटनाहरू सेयर गर्दै फ्यानहरूको ध्यान खिच्छन्।
हालै, ओरीले एक साता काठमाडौंमा बिताए। उनले सगरमाथा क्षेत्रमा पर्वतीय उडान गरे, शिलाको प्रवचनमा भाग लिए, र पाटन, भक्तपुर, तथा वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरे।
सञ्जयलीला भन्सालीले ओटीटीमा ‘हीरामाण्डी’ वेब सिरिजबाट सफल डेब्यू गरेका थिए। सिरिजलाई दर्शकहरूले अत्यधिक माया दिएका छन्। यसअघि, उनले आलिया भट्टसँग २०२२ मा ‘गंगुबाई काठियावाडी’ निर्माण गरेका थिए, जुन फिल्म पनि सफल भएको थियो।
ओरहानको बलिउड डेब्यू र भन्सालीको निर्देशनको यो प्रोजेक्टको प्रतीक्षा गर्दै, दर्शकहरू फिल्म ‘लभ एन्ड वार’ लाई विशेष चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।