फिल्मी फण्डा । अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली चलचित्र अवार्ड वितरण सम्पन्न भएको छ । नेपाली समयानुसार आइतबार बेलुका सम्पन्न अवार्डको पहिलो संस्करणमा विभिन्न नेपाली फिल्म, कलाकार र प्राविधिकलाई पुरस्कृत गरियो ।
नेपाली फिल्मको अभिनयमा योगदान पुर्याएबापत अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरियो । ‘पूजार सार्की’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । ‘गाउँ आएको बाटो’ले क्रिटिक्स अवार्ड जित्यो । ‘बोक्सीको घर’ले जुरी अवार्ड पायो ।
‘पूजार सार्की’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित भए । अनमोल केसीले ‘फर्की फर्की’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा आँचल शर्मा ‘डिग्री माइला’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।
प्रदीप खड्का पपुलर अभिनेता र केकी अधिकारी पपुलर अभिनेत्री घोषित भए । दीपेन्द्र लामाले ‘नांगो गाउँ’बाट सर्वोत्कृष्ट लेखन, ‘नांगो गाउँ’बाटै आलोक शुक्ला सर्वोत्कृष्ट छायांकार, ‘उपहार’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादक घोषित भए ।
‘अगस्त्य’बाट प्रमोद अग्रहरि सर्वोत्कृष्ट सहअभिनेता, ‘परदेशी २’बाट वर्षा सिवाकोटी सर्वोत्कृष्ट सहअभिनेत्री, ‘बोक्सीको घर’बाट प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार, ‘नांगो गाउँ’बाट एसडी योगी सर्वोत्कृष्ट गायक, समीक्षा अधिकारी ‘बोक्सीको घर’बाट सर्वोत्कृष्ट गायिका घोषित भए ।