फिल्मी फण्डा। काठमाडौ महानगरको ३० औं दिवसको अवसरमा आगामी मंसिर २९ गते चर्चित कलाकार र ब्याण्डले टुँडिखेल मैदानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । काठमाडौं महानगरपालिकाले प्रस्तुति दिने कलाकारको लाइनअप सार्वजनिक गरेको छ, जसमा पछिल्लो समय निकै रुचाइएका संगीतकर्मी र समूह छन् ।
दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एण्ड बाजागाजा, अस्मिता अधिकारी, रचना रिमाल, उर्गेन दोङ, केहर एण्ड जोय, कुमा सागर एण्ड द ख्वप, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, बाबुकृष्ण परियार, सुजिल कर्माचार्य, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे र सन्दीप विष्टले प्रस्तुति दिन लागेका हुन् ।
उक्त दिन शनिबार दिउँसो ३ बजेदेखि कन्सर्ट सुरु हुने महानगरले जनाएको छ । सो अवसरमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ ।
यस वर्ष काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०को अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । समितिका सदस्यमा उपप्रमुख सुनिता डंगोल र विषयगत समितिका संयोजक छन् ।
सो अवसरमा स्थानीय मौलिक झाँकी प्रदर्शनी गर्ने, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिलाई सम्मान गर्ने, अपरान्हबाट सांगीतिक कार्यक्रम आयोजना गर्ने, सांस्कृतिक पहिचान हुने मौलिक खानाको प्रवर्द्धनका लागि फुड स्टल राख्ने, एक वडा एक नमुना उद्यम कार्यक्रमबाट उत्पादित सामग्री तथा वस्तुको प्रदर्शनी समेत गरिने भएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई काठमाडौं महानगरपालिका घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।