अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी'

फिल्मी फण्डा। ‘पूर्णबहादुरको सारङ्गी’अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बनेको छ ।  प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएसँगै यो नेपालको सबै भन्दा धेरै कमाउने फिल्म बनेको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।

टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech