फिल्मी फण्डा । आमिर खानको फिल्म दंगलबाट चर्चामा आएकी अभिनेत्री फातिमा सना शेखलाई छारे रोग लागेको छ । फिल्मको सुटिङका क्रममा आफू बेला बेलामा अचेत हुने गरेको र यसको कारण छारे रोग भएको थाहा पाएको हालै अभिनेत्रीले भनेकी थिइन् ।
सार्वजनिक कार्यक्रममा छारे रोगले च्यापेर बेहोस वा अचेत हुने हो कि भनेर अभिनेत्रीले त्यस्ता कार्यक्रम जानै छाडिदिएकी थिइन् । तर विस्तारै उनले यो रोगसँग लडिन् । अहिले उनी खुलेर यसबारे कुरा गरिरहेकी छिन् ।
फिल्म फेयरलाई दिएको अन्तरवार्तामा फातिमाले भनिन्, ‘दंगलको सुटिङका क्रममा मलाई छारेर रोग लागेको थाहा भयो । शुरुमा त न्यूरोलोजिकल डीसअर्डर भएको कुरा स्वीकार गर्न म तयारै थिइनँ । त्यसैले मैले कुनै औषधि खाइनँ ।’
‘मलाई डर थियो कि मानिसहरूको सामु नै म अचेत भए भने के गर्ने ? छारे रोगलाई धेरैले कलंक ठान्छन् । केही गरी म सार्वजनिक कार्यक्रममा अचेल भएको भए मानिसहरूलाई या त म ड्रग्स लिन्छु वा लाइमलाइटमा रहन यस्तो गरे वा मलाई भूत–प्रेत लाग्यो भन्ने लाग्न सक्थ्यो र टाढिनु पर्छ भन्ने सोच्छन्’ अझ अगाडि अभिनेत्री भन्छिन् ।