फिल्मी फण्डा । निकै लामो समय नेपाली फिल्म उद्योगबाट टाढा रहेका नायक रमेश उप्रेतीले २०७३ सालमा ब्रासलेट फिल्म बाट कमब्याक गरेका थिए, उक्त फिल्म बक्स अफिसमा डिजास्टर भयो । त्यसपछि रमेशले आफ्नै लगानीमा ऐश्वर्य फिल्म बनाएका थिए । उक्त फिल्मले ठिकठाक ब्यापार गरेपनि लगानी धेरै भएकोले फिल्मले असफलताको ट्याग पायो । त्यस पछि नेपाली फिल्मको पर्दाबाट टाढा रहेका रमेश उप्रेती पुन कमब्याक गर्ने भएका छन् । रमेश ५ बर्ष पछि कोत पर्व फिल्म मार्फत् पुन नेपाली फिल्ममा फर्किन लागेका हुन् ।
कोत पर्वमा भर्खरै नायक सौगात मल्ल पनि अनुबन्धित भएका थिए । जंगबहादुर राणाले सत्ता हत्याउन ललितपुरको दरबारमा गरेका कत्लेआम घटनालाई कोतपर्व भनिन्छ । विक्रम संवत् १९०४ को आसपासमा फिल्मको कथा रहने छ । नालापानी फिल्मको समेत निर्देशन गरिसकेका निर्देशक रिमेश अधिकारीले यस फिल्मको पनि निर्देशन गर्दै छन् ।
शिव चन्द्र कार्यकारी निर्माता रहने फिल्म ‘कोतपर्व’लाई महेश दवाडी लेखेका हुन् । फिल्मको निर्माता छोटेलाल रौनियार र शारदा खड्का अर्याल रहने छन् । रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट ब्यानरमा बन्न लागेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने बताइएको छ ।