‘बेहुली फ्रम मेघौली’को ८० लाखको ओपनिङ

फिल्मी फण्डा । असोज १७ अर्थात घटस्थापनाको विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले घरेलु बक्स अफिसमा उत्साहप्रद ओपनिङ गरेको छ । नेपाली फिल्मको इतिहासमै सर्वाधिक सोज (३४०) पाएको फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको वितरक कम्पनी डिसिएनले जनाएको छ । बिहीबार देशका प्रायः सहरहरूमा फिल्मले बिहानदेखि नै उच्च अकुपेन्सी कायम गरेको थियो ।

शुक्रबार पनि फिल्मको अवस्था राम्रो देखिन्छ । कामकाजी दिन भएकाले बिहानी सोजमा अकुपेन्सी औसत देखिए पनि दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । साँझ ६ बजेपछि काठमाडौंसहित बाहिरका धेरै सहरमा ६० प्रतिशत अकुपेन्सी नाघेको छ । केही सोज हाउसफुलको संघारमा पनि पुगेका छन् । यसरी हेर्दा शुक्रबार फिल्मले ३० लाखसम्म कमाउन सक्ने देखिएको छ ।

शुक्रबारबाट आएको हलिउड फिल्म ‘जोकर २’ले ‘बेहुली फ्रम मेघौली’लाई ठूलो असर गर्न सक्ने प्रक्षेपण गरिएको थियो । सुपरहिट फिल्मको सिक्वेल भएकाले ‘मेघौली’को दोस्रो दिनै धेरै सोज गुम्न सक्ने खतरा देखिन्थ्यो । तर, नेपालका अधिकांश मल्टीप्लेक्सहरुले दुवै फिल्मलाई लगभग बराबर सोज बाँडफाँड गरेका छन् । अकुपेन्सी दरमा भने ‘जोकर २’भन्दा ‘बेहुली’ नै अगाडि देखिएको छ ।

दुई दिनको प्रदर्शन सुखद् रहेकाले भोलि शनिबार फिल्मको व्यापारमा उछाल आउन सक्ने सम्भावना उच्च रहेको  छ । आइतबारबाट भने फिल्मको वास्तविक परीक्षा सुरु हुनेछ । किनकि, शनिबारसम्म प्रचार सामाग्री र कलाकारको क्रेजको प्रभाव केही हदसम्म हलमा देखिन्छ । आइतबारबाट दर्शक प्रतिक्रियाले फिल्मको व्यापार निर्धारण गर्छ । ‘बेहुली फ्रम मेघौली’लाई दर्शकले रुचाएकै देखिन्छ ।

यो फिल्मले हलमा राम्रो दर्शक पाइरहँदा पाइरेसीको समस्या पनि भोगिरहेको छ । टिकटकजस्ता प्लेटफर्ममा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकहरुले हालिदिँदा निर्माता मारमा परेका छन् । केहीले त तीन मिनेटसम्मको क्लिप्स टिकटकमा राखिदिएका छन् । यो समस्या यसअघि पनि थुप्रै नेपाली फिल्मले भोगिसकेका छन् । यो गैरकानुनी काम हो भने बोध नै दर्शकमा हुन सकेको छैन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech