मिथुन चक्रवर्तीलाई भारत सरकारले दादासाहेब फाल्के अवार्ड दिने

फिल्मी फण्डा। भारत सरकारले बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई यसवर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गर्ने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यसको औपचारिक घोषणा गरे । असोज २२ गते आयोजना हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने भएको छ ।

मिथुनले सन् १९७६ मा ‘मृगया’बाट फिल्मी करिअर थालेका थिए । पहिलो फिल्मबाटै उनले राष्ट्रिय पुरस्कार जितेका थिए । उनले सन् १९८२ को फिल्म ‘डिस्को डान्सर’बाट प्रसिद्धी प्राप्त गरे ।

चक्रवर्तीलाई पुरस्कार प्रदान गर्नेबारे जानकारी दिँदै केन्द्रीय मन्त्री वैष्णवले सामाजिक संजाल एक्समा लेखे, ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्तालाई प्रेरित गर्छ । दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यसवर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’

दादासाहेब फाल्के पाएकोमा मिथुनलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘भारतीय सिनेमामा अनुपम योगदानका लागि मिथुन चक्रवर्तीलाई दादासाहेब अवार्डबाट सम्मानित गर्न पाउँदा खुसी लागेको छ ।’

सम्मान पाएपछि मिथुनले भनेका छन्, ‘साँचो भन्नुपर्दा मसँग कुनै भाषा छैन । न म हाँस्न सक्छु, न म खुशीले रुन सक्छु । यो यति ठूलो कुरा हो । म कहाँबाट आएको केटाले यति ठूलो सम्मान पाएको कल्पना पनि गर्न सक्दिन । म यो पुरस्कार मेरो परिवार र विश्वभरका फ्यानलाई समर्पित गर्दछु ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech