राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन सुरु

फिल्मी फण्डा। अभिनेता राजेश हमालले आफ्नो कमब्याक फिल्म ‘नरसिंहा अवतार’को छायांकन थालेका छन् । बिहीबार बालाजुस्थित चलचित्र विकास संस्थानको स्टुडियोमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

हमाल आधा दशकभन्दा लामो समयपछि फिल्मको छायांकन सेटमा फर्किएका हुन् । दिवाकर भट्टराईले निर्देशन गर्ने यो एक्सनसोसल ड्रामा फिल्मसँग हमालका केही रोचक किस्सा पनि छन् ।

यो फिल्ममा हमालले ३३ वर्षपछि छविराज ओझासँग सहकार्य गरेका छन् । ओझा हमालको डेब्यु फिल्म ‘युगदेखि युगसम्म’का निर्माता हुन् । तर ‘नरसिंहा अवतार’मा ओझा वितरक हुन् ।

फिल्मको छायांकन सुरु गर्न आयोजित समारोहमा हमाल र ओझा सँगै देखिए । यो फिल्ममा हमालले पछिल्लो पुस्ताका कलाकारसँग स्क्रिन सेयर गर्दैछन् । 

फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मितिको रुपमा तय गरिएको छ । प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी,प्रकाश कुँवर लगायतको अभिनय रहनेछ ।

आठ वर्षपछि यो फिल्मबाट हमालको पुनरागमन हुँदैछ । उनले यो फिल्मका लागि केही समयदेखि भिन्न लुक्स बनाइरहेका छन् । यो फिल्ममा हमालले सरोज खनालसँग ३० वर्षपछि सहकार्य गर्दैछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech