फिल्मी फण्डा । नेपाली फिल्मको प्रवर्द्धनमा कलकारको भुमिका विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघको ३६औँ स्थापना दिवसको अवसरमा संघले बुधवार चलचित्र विकास बोर्डमा सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाली फिल्मका कलाकारहरुले फिल्मको प्रवर्द्धनमा सहयोग नगरेको गुनासो सुनिएका छन् । पछिल्लो समय कलाकारहरुले आफैले स्टार स्वोघोषणा गर्ने र त्यहि अनुसारको पारश्रमिक लिएर फिल्म रिलिजको समय प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग नगरेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।
कलाकार संघका बरिष्ठ उपाध्यक्ष शिवहरी बैरागीको सन्योजकत्वमा आयोजित कार्यक्रमको प्रमूख वक्ता रहेका बरिष्ठ फिल्मकर्मी निर शाहले सैद्धान्तिक र दार्शनिक दृष्टिकोणमा आधारित धारणा राखेका थिए । ''अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातलले मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौ । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दर्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्पैसनहरुको एक्प्रेसन हो भन्ने बुझे । अर्थात प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो । त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौँ,'' निर शाहले भने ।
शाहले अहिलेको कलाकारहरुले पहिले कलाकारिता भनेको के हो ? र यसले कस्तो किसिमको जिम्मेवारी ग्रहण गर्छ ? भन्ने नबुझेको बताए । यदि उक्त कुराको ज्ञान सबैसँग भएको भए उनले नेपाली फिल्मको प्रवद्र्धनमा निरन्तर लागिरहने उल्लेख गरे । निर्देशक र प्राविधिकहरु विदेशी भएपनि पहिलो फिल्म आमामा शिवशंकर, बसुन्धारा भुषालहरुले समाजीक यथार्थलाई बोध गरि फिल्म खेलेका कारण नेपाली फिल्मको विकासक्रम शुरु भएको र यसले कहिँ न कहिँ फिल्मको विकास र प्रवर्द्धन हुँदै आएको शाहले बताए ।
कलाकारले फिल्म क्षेत्रको प्रवर्द्धन त परै जाहोस्, आफूले अभिनय गरेको फिल्म प्रवर्द्धनमा समेत ध्यान दिन छोडेको संघसंस्थाका प्रतिनिधिहरुको आरोप छ। विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो । कार्यक्रममा अहिलेका कलाकारले संघसंस्थाको महत्त्व समेत नबुझेको चर्चा भयो । आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, संघसस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भने सहभागी नहुने गरेको धेरैको भनाई थियो ।
यस्तै बरिष्ठ कलाकार बसुन्धरा भुषालले कलाकारिता क्षेत्रलाई कलाकार संघले संगठित गर्दै आएको बताईन् । फिल्म क्षेत्रलाई विकास बोर्डले सहकार्य गर्नुपर्ने पनि उहाँले बताईन् । 'चलचित्र विकास बोर्ड अन्गर्ततमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषमा कालकारहरुको सहयोगको चासो नभएको उनले दुःख व्यक्त गरिन् । ''एउटा फिल्मको ५ सय दिएपनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवर्द्धनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुट भयौ भने सरकालाई दबाब दिनसक्छौ ।'' कलाकार बसुन्धराले भनिन् ।
कार्यक्रमका अध्यक्ष मोहन निरौलाले संघको इतिहासदेखि वर्तमानसम्मको अवस्था, समस्या र गतिविधिहरुको वारेमा चर्चा गरेका थिए । कलाकारहरुको क्षमता विकास, स्वास्थ्य अवस्था र पेशाकर्मीको सुरक्षा र अधिकारको लागि संघ लाग्दै आएको उनले बताए । पछिल्लो समय सरकारलाई स्वदेशी फिल्मको प्रवर्द्धन हुने गरि राष्ट्रिय चलचित्रको पक्षमा काम गर्न र कानून निर्माण गर्न चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय र सम्बन्धित पक्षलाई निरन्तर आह्वान र खबरदारी गर्दै आएको अध्यक्ष निरौलाले बताए ।
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आफु भर्खरै बोर्डमा आएकोले योजनाहरु बनाउने क्रममा रहेको बताए । उनले छिट्टै चलचित्र विधेयक र चलचित्र नीति पास गर्ने गरि प्रक्रिया शुरु गरेको पनि बताए । बहुबर्षिय योजनामा बनेपा फिल्म स्टुडियो निर्माण गर्ने भनिएता पनि आफ्नै कार्यकाल भित्र निर्माण सकिने गरि काम शुरु गर्न लागेको पनि अध्यक्ष डिसीले बताए । यस्तै आफ्नो दायित्व जे हो त्यहि मात्रै गनुपर्ने भन्दै अध्यक्ष डिसीले संघसंस्थालाई सहकार्य गर्दै आफ्नो अनुकुलको गतिविधिहरु गर्न सुझाव दिए । बोर्डले पनि आफ्नो काम मात्रै गर्छ । फिल्म बनाउने, भ्यानिटी भ्यान किन्ने,पोष्ट ल्याव खोल्ने काम बोर्डको नभएको उनले बताए ।